नेकपा (एमाले) का निष्काशित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि स्वेच्छाचारी, तानाशाही, र निरंकुश शैली अपनाएको आरोप लगाएका छन्। नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा रावलले ओलीको सत्ता उन्मादका कारण आफूलाई पार्टीबाट निष्काशन गरिएको दाबी गरे।
ओलीमाथि सत्ता उन्मादको आरोप
रावलले अध्यक्ष ओलीलाई ‘नव सामन्तको प्रतीक’को संज्ञा दिँदै, पार्टीलाई सिद्धान्तविहीन ‘कम्पनी’मा परिणत गर्न खोजेको आरोप लगाए। उनले भने, “ओलीले स्वघोषित सर्वोच्च नेता बन्न खोजेका छन्। सबैले आफूप्रति निष्ठा देखाउनुपर्ने बाध्यता सिर्जना गर्न खोज्दैछन्।”
उनले ओलीको निरंकुश शैलीको विरोध गर्दै इमानदार कार्यकर्ताहरूले विद्रोहको सुरुवात गर्ने चेतावनी दिए। रावलले थपे, “सत्ताको उन्मादमा अगाडि बढ्नेहरू दीर्घकालमा टिक्न सक्दैनन्। ओलीको स्वेच्छाचारी शैली अब ढल्नेछ।”
राष्ट्रिय हितको पक्षमा प्रतिबद्धता
रावलले आफ्नो निष्कासनलाई अन्यायपूर्ण भन्दै, “मैले सधैं राष्ट्रिय स्वाधीनता, आर्थिक समृद्धि, सुशासन, र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएको छु। म देशको स्रोत-साधन विदेशीलाई सुम्पने प्रवृत्तिको विरोधमा उभिएको छु,” भने।
उनले नेकपा (एमाले) का घोषित नीति र सिद्धान्तको संरक्षण गर्दै आएको दाबी गरे। तर, ओलीले ती सिद्धान्तहरूलाई उपेक्षा गर्दै स्वार्थपूर्तिको राजनीति गरिरहेको आरोप लगाए।
ओलीसँग साँठगाँठको आरोप
रावलले अध्यक्ष ओलीलाई देशविरोधी, भ्रष्टाचारप्रेरित, र अनैतिक तत्वहरूसँग साँठगाँठ गरेको आरोप लगाए। उनले भने, “ओलीले राष्ट्रिय अस्मिता समाप्त पार्ने उद्देश्यले नीति निर्माण गरेका छन्। देशलाई कमजोर बनाउने यस्ता निर्णयको म विरोध गर्छु।”
उनले इमानदार कार्यकर्ताहरूलाई एकजुट भई ओलीको निरंकुश शैलीविरुद्ध संघर्ष गर्न आह्वान गरे।