जोमसोम— सोमबार बिहानैदेखि परेको भारी हिमपातका कारण मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीदेखि वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ सडक अवरुद्ध बन्यो । कागबेनी—मुक्तिनाथ कालोपत्रे सडक माथि ३ फुट बढी हिउँ थुप्रिएपछि बिहानैदेखि सडक आवागमन प्रभावित बनेको हो ।
हिमपातले कागबेनी—मुक्तिनाथ १३ किमी सडकको करिव २ किमी दुरीमा बाक्लो हिउँ थुप्रिएपछि मुक्तिनाथका लागि जोमसोमबाट सवारी साधन गन्तव्यमा प्रस्थान गर्न सकेनन् । यो सडक २०७३ सालमा कालोपत्रे गरिएको थियो ।
हिमपातले मुक्तिनाथ सडक अवरुद्ध भएको सूचना प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेको नेतृत्वमा गएको २० जनाको प्रहरी टोलीले सडकको हिउँ पन्छ्याईएको छ । प्रहरीले स्थानीय घरेलु उपकरण कुटो,बेल्चा र सावेल प्रयोग गरी सडकमा थुप्रिएको हिउँ पन्छ्याएर सडक आवागन सूचारु गरेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए । योसंगै हिउँ पन्छ्याएपछि सवारी साधन गन्तव्यमा पुगेको उनले बताए ।
मुस्ताङमा सोमबार बिहानै देखि हिमपात भएको थियो । उपल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा भारी हिमपात भएको थियो भने तल्लो मुस्ताङमा वर्षासंगै हिमपात भएको थियो ।
फोटो ः सुरक्षाकर्मीद्धारा सडक हिउँ पन्छ्याएपछि मुक्तिनाथ सडक सूचारु ,