विप्लवको प्रधानमन्त्री ओलीलाई चेतावनी: ‘जनयुद्धले दिएको ताज फिर्ता गर’

काठमाडौं,। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनयुद्धले दिलाएको ताज फुकालेर हस्तान्तरण गर्न चेतावनी दिएका छन्।

माओवादी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै विप्लवले माओवादीहरू बन्दुकको मोर्चाबाट कलमको मोर्चामा आएपछि रक्षात्मक बनेको आरोप लगाए। उनले जनयुद्धको ऐतिहासिक भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध सशक्त संघर्ष गर्नुपर्ने बताए।

जनयुद्धलाई कमजोर बनाउने षड्यन्त्र
विप्लवले माओवादी आन्दोलनलाई तोडमोड गर्न खोज्नेहरूप्रति आक्रोश व्यक्त गर्दै भने, “जनयुद्धको महत्त्वलाई विषयान्तर गर्ने, जनताको अधिकार खोस्ने, र आन्दोलनमाथि हमला बोल्ने कार्य भइरहेको छ। हामीले कलमको मोर्चालाई अझ सशक्त बनाउनुपर्ने छ।”

उनले अहिलेको राजनीतिक अवस्था दलाल पूँजीपतिहरूको नियन्त्रणमा रहेको आरोप लगाउँदै माओवादीले सामन्तवादलाई परास्त गरे पनि पूँजीपतिहरूविरुद्धको संघर्ष बाँकी रहेको बताए।

ओलीलाई ताज फिर्ता गर्न आग्रह
प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै उनले प्रकाश सपुतको गीत स्मरण गरे। विप्लवले प्रश्न गरे, “केपीजीलाई ताज कसले पहिराइदियो? तपाईँले लाएको ताज, चलाएको राज, कुर्सी सबै जनयुद्धकै देन हो। त्यसैले त्यो ताज फुकालेर हामीलाई हस्तान्तरण गर।”

उनले गणतन्त्रको संस्थापक जनयुद्ध भएको र यसको सम्मान गर्नुपर्ने माग गरे।

जनयुद्धमाथि हमला नगर्न चेतावनी
विप्लवले संसददेखि न्यायालयसम्म जनयुद्धमाथि खिसिट्यूरी भइरहेको आरोप लगाउँदै चेतावनी दिए। उनले न्यायालयमा जनयुद्धलाई अस्वीकार गर्ने मानसिकता हावी भएको उल्लेख गर्दै, “महिलाहरूलाई निर्णय गर्ने स्थानमा पुर्याउने, श्रमिकहरूलाई सत्ताको मालिक बनाउने काम जनयुद्धकै उपलब्धि हो,” भने।

उनले माओवादी आन्दोलनको विरासत जोगाउन सबैलाई सशक्त रूपमा अघि बढ्न आह्वान गरे।

प्रतिक्रिया