काठमाडौँ । भवन निर्माणका लागि बेसमेन्ट खन्दासँगै सुरक्षा मापदण्ड नअपनाउँदा छिमेकीका घर चर्किने, घर झुक्ने र बस्नै असुरक्षित हुने अवस्था बढेपछि काठमाडौँ महानगरपालिकामा क्षतिपूर्ति माग गर्दै उजुरी दर्ता गराउनेको संख्या तीव्ररूपमा बढ्न थालेको छ।
महानगरको सहरी व्यवस्थापन विभागका अनुसार भवन नक्सा स्वीकृत गर्ने क्रममा छिमेकीलाई असर नपर्ने प्रतिबद्धता घरधनीले अनिवार्य रूपमा गर्नुपर्छ। तर कागजमा गरिएको प्रतिवद्धता फिल्डमा लागू नगर्दा समस्या चुलिन थालेको हो।
महानगरको भवन व्यवस्था समितिले बिहीबार बसेको छलफलमा प्रचलित कानुनअनुसार सबै निर्माण कार्यमा तोकिएका सर्त पूर्ण रूपमा पालना गर्न निर्माण पक्षलाई कडाइका साथ निर्देश गरेको छ।
समितिका संयोजक हीरालाल तण्डुकारले यस्तो समस्या पहिले न्यून मात्र सुनिने तर अहिले तीव्र रूपमा बढेको बताए। उनले दीगो समाधानका लागि प्राविधिक तथा सामाजिक पक्षको गहिरो अध्ययन आवश्यक रहेको उल्लेख गर्दै, ‘विज्ञ तथा साझेदारको सहयोगमा यो समस्या समाधानतर्फ अघि बढिन्छ,’ भने।
समितिका सदस्यसचिव तथा विभाग प्रमुख सिनियर डिभिजन इञ्जिनियर हरिश्चन्द्र लामिछानेले कानुनी सर्त पालना नगर्दा विवाद बढेको बताए। ‘भवन नक्सा पास गर्दा तोकिएका सर्त पूरा नगर्दा घरमा क्षति पुर्याउने, विवाद सिर्जना हुने र निर्माण अवधि तथा खर्च दुबै बढ्ने,’ उनले भने।
उजुरी आएपछि प्राविधिक टोली खटाइने र उनीहरूको प्रतिवेदनअनुसार क्षति न्युनिकरण तथा कारबाही प्रक्रिया अघि बढाइने लामिछानेको भनाइ छ।
विभागका स्ट्रक्चर इञ्जिनियर सन्तोष पाण्डेयका अनुसार हालसम्म करिब ३० वटा उजुरी दर्ता भएका छन्। विशेष गरी वडा नम्बर १३, १४, १५ र ७ बाट बढी गुनासो आएको उनले बताए।
जिओटेक्निकल इञ्जिनियर उदयराज न्यौपानेले माटोको आपसी सम्बन्धलाई नबुझी बेसमेन्ट खन्दा समस्या उत्पन्न भएको बताए। ‘बेसमेन्ट निर्माण पूर्ण इञ्जिनियरिङ् प्रक्रिया हो। दक्ष जनशक्ति र प्राविधिक ज्ञान बिना ठेकेदारले गर्न खोज्दा समस्या बढेको हुन्छ,’ उनले स्पष्ट पारे।
छलफलमा सहभागी सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अधिकारीहरूले भूमिगत पानी दोहन र अनियन्त्रित निर्माणका कारण थप जोखिम देखिएको धारणा राखे।
कानुनअनुसार भवन निर्माण गर्दा सुरक्षात्मक उपाय अनिवार्य
भवन निर्माण संहिताले निर्माण सुरक्षा अपनाउनुपर्ने व्यवस्था गरेको छ। साथै मुलुकी देवानी संहिता २०७० को दफा २७८ मा “कुनै व्यक्तिले आफ्नो घर वा जग्गामा कुनै काम गर्दा छिमेकीलाई कुनै हानि–नोक्सानी नपर्ने गरी सुरक्षात्मक उपाय अनिवार्य अपनाउनुपर्ने” उल्लेख छ।
महानगरले आगामी दिनमा निर्माण अनुगमन कडाइ गर्ने र उल्लंघन गर्ने पक्षलाई कडा कारबाही गर्ने तयारी गरेको जनाएको छ।