शिक्षामन्त्रीबाट राजीनामा दिएपछि महावीर पुन चुनावी मैदानमा


काठमाडौं । शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन् । उनले मंगलबार म्याग्दी पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले शिक्षा क्षेत्रमा सुधारका लागि आफूले अघि सारेका महत्वपूर्ण प्रस्तावहरू कार्यान्वयन हुन नसकेपछि चुनाव लड्ने निर्णय गर्न बाध्य भएको बताए । शिक्षा सुधारका लागि ल्याइएका ३ वटा अध्यादेश र ४ वटा नियमावली राष्ट्रपति र संसदीय विधान समितिबाट स्वीकृत नभएकाले मन्त्री पदमै बसेर काम गर्न असम्भव भएको उनको भनाइ छ ।

“शिक्षा प्रणालीमा संरचनागत सुधार गर्न खोज्दा निरन्तर अवरोध सिर्जना भयो,” पुनले भने, “त्यसैले प्रत्यक्ष जनताबाट जनादेश लिएर संसद्‌मार्फत सुधारका एजेन्डा अघि बढाउने निष्कर्षमा पुगेँ।”

पुनको उम्मेदवारीलाई स्थानीय स्तरमा शिक्षा र नवप्रवर्तनको पक्षमा आवाज उठाउने कदमका रूपमा हेरिएको छ । म्याग्दीमा स्वतन्त्र उम्मेदवारका रूपमा उनको प्रवेशले चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ ।

प्रतिक्रिया