पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा निलम्बित डीजी प्रदीप अधिकारीलाई विशेष अदालतद्वारा ५ लाख धरौटी

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक (डीजी) प्रदीप अधिकारीलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

अधिकारी भक्तपुर नलिञ्चोक हेलिपोर्ट निर्माणसम्बन्धी अर्को भ्रष्टाचार मुद्दामा भने पुर्पक्षका लागि थुनामा रहेकाले विशेष अदालतको नयाँ आदेशले उनी तुरुन्तै रिहा नहुने अदालतले स्पष्ट पारेको छ।

www.aamadarshannews.comहेलिपोर्ट प्रकरणमा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका अधिकारीमाथि पोखरा विमानस्थल निर्माणमा समेत अनियमितता तथा आर्थिक अपचलन गरेको आरोप छ। सोही मुद्दामा शुक्रबार सुनुवाइ गर्दै विशेष अदालतले पाँच लाख धरौटी तोक्दै खुला पुर्जीमा राख्न सकिने आदेश दिएको हो।

यसै प्रकरणमा संलग्न ठहर गरिएका नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीसँग विशेष अदालतले एक लाख रुपैयाँ धरौटी माग गरेको छ।

विशेष अदालतको यो निर्णयसँगै पोखरा विमानस्थल निर्माणमा देखिएका अनियमितता, लागत वृद्धि र जिम्मेवार अधिकारीहरूको भूमिकासम्बन्धी विवाद फेरि एकपटक चर्किने संकेत देखिएको छ।

— न्युज डेस्क, आमा दर्शन न्यूज

प्रतिक्रिया