रवि लामिछाने नेतृत्वको रास्वपा छुट्टाएर चार दलबीच २ बुँदे सहमति, संसद् सञ्चालनको सम्भावना


अामा दर्शन न्युज, काठमाडौं – 


गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै लामो समयदेखि अवरुद्ध हुँदै आएको संघीय संसद् सञ्चालनको बाटो खुल्ने संकेत देखिएको छ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका चार प्रमुख दल — नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) — बीच दुई बुँदे सहमति भएको एक नेताले जानकारी दिएका छन्।


सहमतिको पहिलो बुँदामा “छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) लाई आवश्यक सहयोग गर्ने” र दोस्रो बुँदामा “नेपाल सरकारले अध्यागमन, भिजिट भिसालगायतका विषयमा छानबिन गरी सुधार गर्ने प्रतिबद्धता जनाउने” उल्लेख गरिएको छ।


सहमतिको प्रारम्भिक चरणमा रास्वपाको सहभागिता नरहे पनि अहिले उक्त दलसँग थप छलफल भइरहेको बताइएको छ। रास्वपाले भने गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको गठन नभएसम्म अडान नछोड्ने अघिल्लो भनाइ दोहोर्याउँदै आएको छ।


यस सहमतिलाई संसद् पुनः सञ्चालन गराउने प्रारम्भिक प्रयासको रुपमा हेरिएको छ। प्रमुख दलहरूबीचको यो सहमति कार्यान्वयन भएमा संसद् लामो समयपछि नियमित कार्यसूचीमा फर्कन सक्ने सम्भावना बढेको छ।


– अामा दर्शन न्युज डेस्क

प्रतिक्रिया