काठमाडौं,- "कुशासनको जगमा उभिएको वर्तमान सरकारको कर्तुतलाई अहिलेका घटनाक्रमहरूले पुष्टि गरिरहेका छन्," प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) का सांसद अशोक कुमार चौधरीले सम्माननीय सभामुख महोदयलाई सम्बोधन गर्दै भन्नुभयो।
उहाँले स्काउट लैनचौरको जग्गा हडप्ने व्यक्तिलाई मन्त्री बनाएको, सोझा जनतालाई भुटानी शरणार्थी बनाउनेलाई मन्त्री बनाएको, र लुम्बिनी प्रदेशमा निर्मला कुर्मीको हत्या आरोपितलाई पनि मन्त्री बनाइएको विषयलाई जोड्दै सरकारको आलोचना गर्नुभयो।
"भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचार सहन्नौं भन्ने प्रधानमन्त्रीज्यूलाई म निवेदन गर्न चाहन्छु—छानबिनको सुरुवात आफ्नै मन्त्री परिषदबाट गर्ने हो कि?" उहाँले थप्नुभयो।
भर्खरै मात्रै भुटानी शरणार्थी काण्डका नाइके बेचन झा र प्रतीक थापालाई विशेष ब्यूरोले पक्राउ गरेको डिआईजीलाई २ महिना नहुँदै सरुवा गरिएको प्रति उहाँले गम्भीर आपत्ति जनाउनुभयो। "अबको केही दिनमा बेचन झा रिहा हुन्छ भन्ने खबर आउँछ, कसैले अचम्म नमान्दा हुन्छ," उहाँले चेतावनी दिनुभयो।
उहाँले थप्नुभयो, "हाम्रो थारू भाषामा एउटा कथन छ, 'चोर चोर मस्यौत भाई'। प्रतिपक्षमा रहँदा गिरीबन्धुको फाइल खोल्नु पर्छ भन्ने माननीयज्यूहरू आजकल आवाज बन्द जस्तै छ। कोही त मन्त्री पनि हुनुहुन्छ! सायद पद जाने डरले घाँटी खसखस भएर पनि शान्त बस्नुभएको होला।"
यस घटनामा सरकारको रवैया प्रति उहाँले कटाक्ष गर्दै भन्नुभयो, "कुनै पनि बहानामा, काण्डहरू लुकाउन खोजियो र आफ्ना मान्छे बचाउन खोजियो भने, रा.स्व.पा चुप लागेर बस्ने छैन। खबरदारी जारी रहनेछ।"
सभाको अन्त्यमा उहाँले देशको कल्याणको लागि पशुपतिनाथको प्रार्थना गर्दै मन्तव्य टुंग्याउनुभयो।