पाकिस्तानी ड्रोन आक्रमणपछि जम्मुमा तनाव, धर्मशालाको IPL खेल पनि रोकियो

पाकिस्तानतर्फबाट आएको एकप्रकारको समन्वित ड्रोन आक्रमणपछि भारतीय सुरक्षाकर्मी उच्च सतर्कतामा छन्। बुधबार राति करिब ८ बजे जम्मु क्षेत्रमा गरिएको यो आक्रमणमा मुख्य निशाना जम्मुको विमानस्थल रहेको सुरक्षा स्रोतले बताएका छन्।

भारतीय वायु सुरक्षाले रूसबाट प्राप्त अत्याधुनिक एस-४०० वायु रक्षा प्रणाली प्रयोग गरेर सबै आक्रमणकारी ड्रोनहरूलाई खसाल्न सफल भएको दाबी गरेको छ। आक्रमणपछि जम्मुमा पूर्ण ब्ल्याकआउट गरिएको छ। आरएसपुरा सेक्टरमा ठूलो संख्यामा ड्रोन देखिएको पुष्टि भएको छ भने स्थानीयले धेरै ठाउँमा विस्फोटको आवाज सुनेका छन्। पाकिस्तानबाट गोला–बारुदको प्रहारसमेत भएको सुरक्षास्रोतको भनाइ छ।

यस आक्रमणको प्रभाव खेलकुद क्षेत्रमा समेत देखिएको छ। हिमाञ्चल प्रदेशको धर्मशालामा जारी इण्डियन प्रिमियर लिग (IPL) को खेल स्थगित गरिएको छ। पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रोकिनु पूर्व पंजाबले १०.१ ओभरमा १ विकेट गुमाउँदै १२२ रन बनाइसकेको थियो।

क्रीजमा प्रभसिमरन सिंह र श्रेयस अय्यर थिए भने प्रारम्भिक ब्याट्सम्यान प्रियांश आर्या ७० रन बनाएर आउट भएका थिए। उनलाई टी. नटराजनको बलमा माधव तिवारीले क्याच गरेका थिए।

खेल रोकिनासाथ मैदानका फ्लड लाइटहरू बन्द गरिएका छन् र सुरक्षाका कारण दर्शकहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। धर्मशाला क्रिकेट मैदान वरिपरि सुरक्षा सतर्कता अझ कडा पारिएको छ।

भारतीय सुरक्षा एजेन्सीहरूले देशभर सतर्कता बढाउन निर्देशन दिएका छन् भने पाकिस्तानको गतिविधिमा उच्च निगरानी राखिएको छ।

प्रतिक्रिया