चितवन, चैत १२ - नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल सूचना बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द प्रयोग गरिएको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। यस विषयमा प्राधिकरणले साइबर अपराधअन्तर्गत अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्राधिकरणले सोमबार जारी गरेको विज्ञप्तिमा डिजिटल सूचना बोर्डमा देखापरेको आपत्तिजनक सामग्रीप्रति गम्भीर आपत्ति जनाउँदै उक्त कार्य संविधान तथा कानुनविपरीत रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “देशको सम्माननीय प्रधानमन्त्रीविरुद्ध अपमानजनक सूचना सम्प्रेषण गर्नु राज्यका कानुनी व्यवस्थाविपरीत छ। यस गैरकानुनी कार्यको हामी घोर भर्त्सना गर्छौं।”
यस घटनालाई लिएर मंगलबार कार्यालय प्रमुख रामु श्रेष्ठमाथि हातपातसमेत भएको छ। प्राधिकरणका अनुसार एक समूहले कार्यालयमा प्रवेश गरी श्रेष्ठमाथि कुटपिट गरेको हो। हालसम्म घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्राधिकरणले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, डिजिटल सूचना बोर्डमा आपत्तिजनक सामग्री कसरी देखापर्यो भन्नेबारे प्राविधिक छानबिन भइरहेको जानकारी दिइएको छ।
यस घटनाले साइबर सुरक्षासम्बन्धी प्रश्न उठाएको भन्दै स्थानीय प्रशासनले पनि यस विषयमा चासो देखाएको छ। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र परिवारले विज्ञप्तिमार्फत साइबर सुरक्षाका उपायहरू कडाइका साथ लागू गर्न आवश्यक रहेको बताएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय