काठमाडौं – नेकपा (माओवादी केन्द्र) का प्रवक्ता तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले संसदलाई वेवास्ता गर्दै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको आरोप लगाएका छन्।
शुक्रबार पेरिसडाँडामा आयोजित स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सापकोटाले संसद अधिवेशन ढिलो गरी बोलाउनु सरकारको नियतप्रति गम्भीर शंका उत्पन्न गराउने बताए।
"सरकारको नियत राम्रो देखिएको छैन। सदन छलेर सरकारले अध्यादेश ल्याउन खोज्दैछ, त्यो पनि पार्टीहरू विभाजनका लागि। यो गतिविधि लोकतन्त्रको आत्मामाथि गम्भीर प्रहार हो," सापकोटाले भने।
उनले आफू सभामुख हुँदा संसदको हिउँदे अधिवेशन मंसिरमै बोलाउने परम्परा रहेको स्मरण गराउँदै अहिलेको ढिलाइलाई योजनाबद्ध कदमको संज्ञा दिए।
सापकोटाले लोकतन्त्रको संरक्षणका लागि संसदमा रहेका सबै दलहरूसँग संवाद गरेर संसद अधिवेशन बोलाउन दबाब दिने योजना रहेको जानकारी गराए। "समयमै संसद नबोलाउनुको कारण अध्यादेश हो कि भन्ने आशंका छ," उनले भने।
सापकोटाले सरकारले लोकतन्त्रप्रति जिम्मेवार बन्नुपर्ने र संसदलाई वेवास्ता गर्ने कुनै पनि कदमको विरोध गर्ने चेतावनीसमेत दिए।
मुख्य बुँदाहरू:
- सरकारमाथि संसदलाई वेवास्ता गर्दै अध्यादेश ल्याउन खोजेको आरोप।
- लोकतन्त्रको आत्मा संसद रहेको भन्दै सरकारको कदमप्रति चेतावनी।
- सबै राजनीतिक दलहरूसँग संवाद गरेर संसद अधिवेशन बोलाउन दबाब दिने योजना।
- हिउँदे अधिवेशन समयमै बोलाउनुपर्ने परम्पराको स्मरण।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता