भीम रावलले नयाँ गैरकम्युनिस्ट पार्टी बनाउने तयारी

काठमाडौं: नेकपा (एमाले)बाट निष्कासित भीम रावलले वामपन्थी, प्रजातान्त्रिक, प्रगतिशील र देशभक्त धार समेट्ने नयाँ राजनीतिक पार्टी गठनको तयारी गरेका छन्।

रावलले पारम्परिक कम्युनिस्ट ढाँचाबाट बाहिर निस्केर फरक किसिमको पार्टी बनाउने बताएका छन्। यस विषयमा उनले नेपाली कांग्रेसका नेता कर्ण मल्ल र स्वतन्त्र सांसद तारा जोशीसँग छलफल गरेका छन्।

रावलले आगामी पुस १७ गते काठमाडौंको कार्की पार्टी बैंक्वेटमा पत्रकार सम्मेलनमार्फत आफ्नो नीति, विचार र दृष्टिकोण सार्वजनिक गर्नेछन्। त्यसपछि देश दौडाहामा निस्केर आफ्नो विचारमा सहमत नेता, कार्यकर्ता र समर्थकसँग अन्तरक्रिया गर्ने योजना रहेको छ।

रावलनिकट एकिन्द्र कुँवरका अनुसार यो पार्टी वामपन्थी, प्रजातान्त्रिक, प्रगतिशील र देशभक्तहरूको साझा मंच हुने छ। पार्टी गठन अघि रावलले देशभरका नेताहरूलाई एकजुट गर्ने रणनीति बनाइरहेका छन्।

रावललाई गत पुस १० गते नेकपा (एमाले)ले संगठित सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो। यो घटनापछि उनले नयाँ राजनीतिक यात्रा तय गर्ने संकेत दिएका थिए।

रावलको यो नयाँ कदमले नेपाली राजनीतिको परिदृश्यमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ। अबको समयले यो प्रयास कत्तिको प्रभावकारी हुन्छ भन्ने कुराको उत्तर दिनेछ।

प्रतिक्रिया