प्रधानमन्त्री ओलीद्वारा विकासमा आमूल परिवर्तनको माग, लगानी बोर्डको ५९ औं बैठक सम्पन्न
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास निर्माणमा साधारण सुधारले मात्र नपुग्ने, आमूल परिवर्तन आवश्यक भएको बताएका छन्। लगानी बोर्डको ५९ औं बैठकलाई सम्बोधन गर्दै बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कानुनी तथा व्यवहारिक जटिलता अन्त्य गरी कामलाई गति दिन विशेष जोड दिए।
बैठकमा प्रधानमन्त्री ओलीले भने, “हामीले सामान्य सुधार होइन, रूपान्तरण नै आवश्यक छ। पुराना कानुन संशोधन र टालटुल गरेर अब काम चल्दैन। अबको प्राथमिकता भनेको प्रभावकारी काम, ट्रयाकिङ प्रणालीको कार्यान्वयन र फाइल प्रक्रिया छिटो सम्पन्न गर्नु हो। कुनै पनि फाइल सम्बन्धित निकायमा पुगेको तीन दिनभित्र निर्णय गर्नुपर्ने प्रावधान ल्याउन लागेको छ।”
बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (CEO) सुशील ज्ञवालीले आगामी चार वर्षका लागि रणनीतिक र व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका थिए, जसलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ। बैठकमा चालु तथा कार्यान्वयन चरणमा रहेका विभिन्न परियोजनाहरूको समीक्षा गरिएको थियो।
बैठकमा, निजी क्षेत्रको सहभागिता बढाउन र प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न विशेष जोड दिइएको छ। साथै, बोर्डलाई कानुनी अधिकार सम्पन्न र स्वायत्त बनाउने तथा प्रदेश र स्थानीय तहमा लगानी सहजीकरणका लागि विशिष्टीकृत केन्द्रहरू स्थापना गर्ने प्रस्ताव पनि गरिएको छ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको लगानी बोर्डको यो बैठकले आगामी आर्थिक वर्षका लागि १८ करोड ८३ लाख रूपैयाँ बजेट स्वीकृत गरेको छ।
साथै, ६ अर्ब रूपैयाँभन्दा माथिका परियोजना तथा २०० मेगावाट क्षमताभन्दा माथिका जलविद्युत् परियोजनाहरूको सहजीकरणलाई पनि प्राथमिकता दिइनेछ।