बाँकेमा कुटपिटबाट युवकको मृत्यु, दुई अभियुक्त पक्राउ

काठमाडौं – बाँकेमा कुटपिटका कारण एक युवकको मृत्यु भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बैजनाथ गाउँपालिका–२ का ३५ वर्षीय रामबहादुर राना र बैजनाथ–६ का १७ वर्षीय एक किशोर रहेका छन्।


प्रहरी प्रधान कार्यालयका अनुसार बैजनाथ–८ निवासी २५ वर्षीय दिनेश रोकायाको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।


घटनाका सम्बन्धमा अनुसन्धान गर्दा गएको शुक्रबार (माघ २५) राति बैजनाथ–८, बिचलाईनस्थित विवाह कार्यक्रममा विवाद हुँदा आरोपितहरूले दिनेशसहित ६ जनालाई कुटपिट गरेका थिए।


गम्भीर घाइते भएका दिनेश रोकायाको प्रारम्भिक उपचार कोहलपुरस्थित मेडिकल कलेजमा गरिएको थियो। थप उपचारका लागि उनलाई भारतको लखनऊ लगिएको थियो, जहाँ आइतबार (माघ २७) बिहान उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।


कुटपिटबाट घाइते भएका अन्य पाँच जनाको उपचार कोहलपुरकै मेडिकल कलेजमा जारी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया