बाँकेको बैजनाथ गाउँपालिकाले आफ्ना १२ वटा परीक्षा केन्द्रलाई सिसी क्यामेराबाट निगरानी गरेको छ। गाउँपालिकामा आइतबारबाट आधारभुत तह (कक्षा ८) को परीक्षा सुरु भएको छ भने यही चैत ७ बाट एसईई परीक्षा सुरु हुँदै छ। परीक्षा प्रणालीलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउनका लागि गाउँपालिकाले यो प्रविधि लागू गरेको हो।
गाउँपालिकाले कक्षा ८ का परीक्षाका लागि आठवटा र एसईईका लागि चारवटा परीक्षा केन्द्र तोकेको छ। ती परीक्षा केन्द्रभित्र रहेका १३४ वटा कोठामा सिसी क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए। उनले भने, ‘परीक्षालाई मर्यादित, व्यवस्थित र विश्वसनीय बनाउन हामीले सिसी क्यामेरा जडान गरेका हौं। विद्यार्थीहरूले आत्मविश्वासका साथ परीक्षामा सहभागी होऊन् भन्ने हाम्रो उद्देश्य हो।’
सिसी क्यामेरा जडानका कारण परीक्षामा पारदर्शिता बढ्ने, नक्कल नियन्त्रण हुने तथा विद्यार्थीहरूले स्वच्छ वातावरणमा परीक्षा दिन पाउने गाउँपालिकाको विश्वास छ। परीक्षामा कुनै अनियमितता हुन नदिन तथा विद्यार्थी, शिक्षक र विद्यालय प्रशासनलाई जिम्मेवार बनाउन यो प्रविधि प्रभावकारी हुने गाउँपालिकाको दाबी छ।
स्थानीय अभिभावक तथा विद्यार्थीहरूले गाउँपालिकाको यस निर्णयलाई सकारात्मक रूपमा लिएका छन्। कतिपय विद्यार्थीहरूले भने सिसी क्यामेराको निगरानीले मानसिक दबाब सिर्जना गर्न सक्ने बताइरहेका छन्। तर, शिक्षक तथा विद्यालय व्यवस्थापनले भने यसले पारदर्शी परीक्षा प्रणालीलाई संस्थागत गर्न सहयोग पुग्ने बताएका छन्।
बैजनाथ गाउँपालिकाले यो प्रणाली सफल भए आगामी वर्षहरूमा अन्य विद्यालयमा समेत विस्तार गर्ने योजना बनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता