जोमसोम—हिमाली जिल्ला मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर र मुस्ताङको घरपझोङ—५ ठिनी स्थित कोतघरमा मंगलबार सामुहिक दशैं टिका लगाईएको छ । मुक्तिनाथमा पुजारी र ठिनी कोतघरमा ज्येष्ठ नागरिकहरुबाट सर्वसाधारणलाई टिका लगाईएको हो ।
मुस्ताङ घुम्ने, मुक्तिनाथको दर्शन गर्न आउने र यही मेलोमा मुक्तिनाथ पुगेर दशैं टिका लगाउने विशेष योजना बनाएर आएका भक्तजनहरुलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टिका लगाईदिएका हुन् ।

धार्मिक दृष्ट्रिकोणले पनि मुक्तिनाथको ठुलै महिमा छ ।मुक्तिनाथमा टिका लगाउन चाहनेहरुलाई पुजारी सुवेदीले दशैं टिका लगाई दिएका हुन् । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथमा बर्सेनि विजया दशमीको दिन भक्तजनहरुलाई नव दुर्गा भवानीको दशैं टिका लगाईदिने प्रचलन छ ।
तनहुबाट मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आएका अनुज पौडेलले यसपटक मुक्तिनाथमै दशै टिका लगाउने उद्देश्यले परिवारसहित आएको बताए । उनले जिवनको एकपल्ट मुक्तिनाथमा दशैं टिका लगाउँदा धार्मिक मोक्ष प्राप्त हुने भएकाले यसपटक परिवारिक सदस्यहरुसहित मुक्तिनाथमा मन्दिरमा पुजारीबाट दशै टिका ग्रहण गरेको बताए ।उनले मुक्तिनाथ भगवान शिरोपरी भगवान रहेकाले जिवनको एकपल्ट दशै टिका मुक्तिनाथमा लगाउनु पर्ने सुझाए ।
विशेषत : परिवारबाट बिछोडिएका,टिका लगाईदिने आफन्तजन कोही नभएका र स्वतः स्फूर्त रुपमा मुक्तिनाथमा पुगेर टिका लगाउन आउने भक्तजनहरुको मुक्तिनाथ मन्दिरमा निकै ठुलो भीडभाँड देखिन्थ्यो । गतवर्ष मुक्तिनाथमा करिव ३५ जनाले दशैं टिका लगाएका थिए । यसवर्ष करिव ४५ सय भन्दा बढीले दशैं टिका लगाएको बताईएको छ । दशैं टिका लगाउन पर्यटक तथा स्थानीबासी समेत मुक्तिनाथ मन्दिर पुगेका थिए ।
यसैगरी मुस्ताङको ९६ वटा गाउँबस्ती मध्ये जहाँ यस्तो वस्ती छ,त्यहाँ मात्र दशैं टिका लगाईन्छ । मुस्ताङको घरपझोङ गाउँपालिका—५ ठिनी कोतघरमा पनि ज्येष्ठ नागरिकहरुबाट सर्वसाधरणलाई सामुहिक दशैं टिका लगाईएको छ । सदिंयौं वर्षदेखि बर्सेनि ठिनी कोतघरमा ज्येष्ठ नागरिकहरुबाट सामुहिक दशैं टिका लगाउने गरिन्छ । नवरात्रको अष्ठमीका दिन पशु बली दिएर कोतघरमा राखिएका हातहतियारहरुलाई पुजाआजा गरिन्छ ।ठिनी कोतघरमा दशैं टिका लगाउन घरपझोङ गाउँपालिका आसपासका नागरिकहरुको निकै भीडभाड थियो । ठिनी गाउँमा राजा थर्कोचेन अर्थात तिन आँखे राजाको पालादेखि दशै टिका लगाउने चलन अझै कायम रहेको बताईन्छ । मुस्ताङका अधिकाँश गाउँहरुमा दशै पर्वमा टिका लगाउन चलन छैन ।
ठिनी गाउको कोतघरमा आउने जोकोही सर्वसाधारण नागरिकहरुलाई ज्येष्ट नागरिकहरुले टिका लगाईदिने गरेको ठिनी गाउँका ज्येष्ठ नागरिक धनबहादुर थकालीले बताए । उनले ठिनी गाउँमा नवदुर्गाको पुजा हुने,पशु बली दिने र नवदुर्गाको दशै टिका लगाईदिने गरेको बताए ।
ठिनी गाउँमा टिका लगाउन आउने सर्वसाधरणलाई टिका जमरा लगाएर ज्येष्ठ नागरिकहरुले थकाली भाषामै उन्नती,प्रगती र दिर्घायुको आशिष दिए । सदावर्ष झै यसवर्ष पनि ठिनी कोतघरमा गाउँका ९३ वर्षीय ज्येष्ठ नागरिक ज्ञानी प्रसाद थकाली,ज्येष्ठ नागरिक ज्वाला प्रसाद थकाली र आय लामा जीतबहादुर थकाली लगायतले सर्वसाधारण दशै टिका लगाईदिएका हुन् ।
अधिकाँश बुद्धिस धर्मको बाहुल्यता रहेको मुस्ताङमा आदीवासी जनजाती मध्ये ठिनी गाउँमा मात्र दशैं टिका लगाउने प्रचलन विद्यमान छ । यहाँका दलित समुदाय र मुस्ताङमा अस्थायी बसोबास गर्ने मिश्रित समुदायले पनि दशैं टिका लगाएका छन् ।
मुस्ताङको ठिनी गाउँमा परापूर्व कालदेखिनै सामुहिक दशै टिका लगाउने चलन रहेको घरपझोङ —४का वडाध्यक्ष यामप्रसाद थकालीले उल्लेख गरे । संघीयता अघि ठिनी,ढुम्बा र जोमसोम एउटै गाविसमा रहेको र बनजंगल र सिंचाई कुलो समेत एउटै भएकाले ३ गाउँका सर्वसाधारण टिका लगाउने ठिनी जाने गरेको वडाध्यक्ष थकालीको भनाई छ । आफुले विगत ५० वर्षदेखि निरन्तर ठिनी कोतघरमा दशैं टिका लगाउँदै आईरहेको बताए ।
मुस्ताङमा कुल जनसंख्याको ८० प्रतिशत बढीले दशैं पर्व मान्दैनन् । यद्यपी दशै पर्वमा आपसमा भेटघाट गर्ने,रमाईलो गर्ने र स्वादिष्ट परिकार बनाएर खाने प्रचलन छ । दशैं पर्व नमनाएपनि मुस्ताङीहरुलाई दशैं पर्वलाई धार्मिक सम्मान र सद्भाव राख्ने पर्वको रुपमा लिने गरेको पाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार