राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज

काठमाडौं, भदौ ४ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्दैछ। बैठकमा पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा १० वटा महत्वपूर्ण कार्यसूचीहरूमा छलफल हुने कार्यतालिका रहेको छ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, बैठकमा पार्टी अनुशासन आयोगले प्रस्तुत गरेको प्रतिवेदनमाथि व्यापक छलफल हुनेछ। यसैगरी, पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथि थप कारबाहीको सम्भावना पनि बैठकको एजेन्डामा समावेश गरिएको छ। यसअघि, केन्द्रीय समिति बैठकले डा. ढकाललाई महामन्त्री र केन्द्रीय सदस्य पदबाट निलम्बित गर्दै साधारण सदस्यको हैसियतमा कायम राख्ने निर्णय गरेको थियो।

बैठकमा समसामयिक राजनीति, पार्टीका गतिविधिहरू, रास्वपाले आयोजना गर्न लागेको राष्ट्रिय भेला, कर्णाली प्रदेशमा विशेष अभियान, र विधान संशोधन लगायतका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ।

प्रवक्ता झाले भने, "संविधान दिवसको अवसरमा पार्टीले विशेष कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ, जसलाई आजको बैठकमा औपचारिक एजेन्डा बनाइएको छ।" असोज ३ गते संविधान दिवस मनाउन पार्टीले विभिन्न कार्यक्रमहरू संचालन गर्ने योजना रहेको छ।

साथै, भ्रष्टाचारसम्बन्धी मुद्दाको हदम्याद, शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास, र पार्टीको संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन लगायतका विषयमा पनि बैठकमा विस्तृत छलफल गरिनेछ।

स्थानीय तह उपनिर्वाचनमा पार्टीको सहभागिता सम्बन्धी आन्तरिक मतभेदलाई सम्बोधन गर्दै, यसबारे बैठकले ठोस निर्णय लिने अपेक्षा गरिएको छ। बैठकमा भएका निर्णयहरूबारे बैठक पश्चात् पार्टीले आधिकारिक जानकारी सार्वजनिक गर्ने योजना बनाएको छ।

© 2024 Aama Darshan News

प्रतिक्रिया