भैरहवा, २ मंसिर कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को रिक्त वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवधेश कुमार चौधरीलाई उम्मेदवार बनाएको छ। प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीको नेतृत्वमा आइतबार उम्मेदवारी दर्ता गरिएको हो।
अवधेश कुमार चौधरीले स्थानीय तहमा विद्यमान भ्रष्टाचार, बेथिति र अव्यवस्थाको अन्त्य गर्दै सुशासन कायम गर्न तथा किसानका मुद्दालाई प्राथमिकतामा राखेर उम्मेदवारी दिएको बताएका छन्।
रास्वपाका सांसद अशोक कुमार चौधरीले चौधरीको सामाजिक सेवामा लामो अनुभव, इमान्दारिता, र निष्ठाका कारण पार्टीले उनलाई वडाध्यक्ष पदका लागि उम्मेदवार चयन गरेको जानकारी दिए। उम्मेदवारी दर्ताको क्रममा पार्टीका जिल्ला नेतृत्वसहित विभिन्न नेताहरूको उपस्थिति रहेको थियो।
सांसद चाैधरीले शुद्धोधन पालिकाका वडा नं १ का सम्पूर्ण मतदाताहरूलाई विगतको ३५ वर्षको समिक्षा गर्दै परिवर्तनका निम्ति यस पटक आफ्नो सोच बदल्न, मत बदल्न,र परिक्षण भइ सकेका नेता,पार्टी बदल्न अनुरोध गर्नु भएको छ । अनि मात्र देश बदलिन्छ!
शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा वडाध्यक्ष तिलकराम यादवको निधनपछि रिक्त भएको पदका लागि उपनिर्वाचन हुन लागेको हो। यस उपनिर्वाचनलाई लिएर स्थानियहरूमा उत्साह देखिएको छ।