ट्रम्प प्रशासनद्वारा यात्रा प्रतिबन्ध विस्तार, थप पाँच देश पूर्ण प्रतिबन्धको सूचीमा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा थप फराकिलो पार्दै पाँच नयाँ देशलाई पूर्ण प्रतिबन्धको सूचीमा समावेश गरेको छ । साथै अन्य थुप्रै देशमाथि आंशिक तथा कडा प्रतिबन्धहरू पनि लगाइएको छ ।

मंगलबार जारी गरिएको आदेश ट्रम्प प्रशासनको अध्यागमन नीतिलाई अझ कडा बनाउने निरन्तर प्रयासको एक अंश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो निर्णय केही दिनअघि वासिङ्टन डीसीमा अफगान मूलका एक व्यक्तिद्वारा नेशनल गार्ड्सका दुई सैनिकमाथि गोली प्रहार भएको घटनापछि आएको हो । सो घटनापछि आप्रवासन र सुरक्षासम्बन्धी नीति थप कडा बनाउने दबाब बढेको विश्लेषण गरिएको छ ।

यसअघि जुन महिनामा राष्ट्रपति ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएका थिए भने अन्य सात देशका नागरिकमाथि विभिन्न प्रकारका प्रतिबन्ध लागू गरेका थिए । ट्रम्पले आफ्नो पहिलो कार्यकालका दौरानमा पनि यस्तै किसिमको यात्रा प्रतिबन्ध नीति अवलम्बन गरेका थिए ।

मंगलबार सार्वजनिक गरिएको नयाँ निर्णयअनुसार अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएका देशहरूको सूचीमा बुर्किना फासो, माली, नाइजर, साउथ सुडान र सीरिया समावेश छन् । साथै प्यालेस्टिनी प्राधिकरणद्वारा जारी गरिएका यात्रा कागजात बोकेका व्यक्तिहरूको अमेरिका यात्रामाथि पनि पूर्ण रूपमा रोक लगाइएको छ ।

यसैगरी आंशिक प्रतिबन्धको सामना गर्ने देशहरूको सूचीमा थप १५ देश जोडिएका छन् । ती देशहरूमा अंगोला, एन्टिगुआ र बारबुडा, बेनिन, कोटे डी आइभर, डोमिनिका, ग्याबोन, गाम्बिया, मलावी, मौरिटानिया, नाइजेरिया, सेनेगल, तान्जानिया, टोंगा, जाम्बिया र जिम्बाब्वे रहेका छन् ।

यसअघि नै पूर्ण यात्रा प्रतिबन्ध लगाइएका १२ देशमा अफगानिस्तान, म्यानमार, चाड, रिपब्लिक अफ कंगो, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन परेका छन् । त्यस्तै बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला का नागरिकमाथि कडा प्रतिबन्ध कायम छ ।

प्रतिक्रिया