रास्वपा सभापति रवि लामिछानेको गिरफ्तारीप्रति रास्वपाको घोर आपत्ति
काठमाडौं, कात्तिक २, २०८१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीप्रति कडा विरोध जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह प्रेरित कदम भएको आरोप लगाएको छ।
विज्ञप्तिमा भनिएको छ, संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा सभापति लामिछानेको कुनै संलग्नता नरहेको ठहर गरिसकेको अवस्थामा, उनीमाथि सोही मुद्दामा पुनः पक्राउ गर्नु राजनीतिक प्रतिशोधको प्रयास हो।
तर, पार्टीले विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायहरूको छानबिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, “रास्वपा र हाम्रा सभापति विरुद्ध कानुनी प्रक्रियाको गलत प्रयोग गर्दै राजनीतिक प्रतिशोध साँधिनु हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन।”
रास्वपाले लामिछानेको गिरफ्तारीलाई आम जनताको सहकारीमा डुबेको ८७ अर्बको अपचलन गर्नेलाई उन्मुक्ति दिनको लागि खेलिएको षड्यन्त्रको रूपमा व्याख्या गरेको छ। पार्टीले गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स, र वाइडबडी प्रकरणजस्ता अरबौंको घोटालामा संलग्न दलहरूलाई आलोचना गर्दै उनीहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरिरहेको आरोप लगाएको छ।
विज्ञप्तिमा भनिएको छ, “हामी डराएका छैनौं, तर्सिएका छैनौं। अब परिवर्तनको लडाई थप सशक्त हुनेछ।” साथै, रास्वपाले परिवर्तन चाहने सबै नेपाली जनतालाई राजनीतिक जालझेलको विरुद्ध सचेत र सशक्त हुन आह्वान गरेको छ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले हस्ताक्षर गरेको विज्ञप्तिमा लामिछानेको गिरफ्तारीलाई तत्काल रोक्न माग गरिएको छ।
(अामा दर्शन न्यूज)