रवि लामिछाने र छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ, आदेश आउने सम्भावना

काठमाडौं, जेठ १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछाने र जोशीका रिट निवेदनमा गत मंगलवारदेखि निरन्तर सुनुवाइ हुँदै आएको छ।

बिहीबारको सुनुवाइमा लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए भने सरकारी पक्षबाट गोविन्द खनाल, लोकराज पराजुलीलगायतले प्रतिवाद गरेका थिए।

आजको सुनुवाइमा पीडित पक्षका कानुन व्यवसायीहरूले बहस गर्नेछन, त्यसपछि जवाफी बहस हुने भएको छ। सुनुवाइको क्रम अन्तिम चरणमा पुगिसकेकोले आजै आदेश आउने प्रबल सम्भावना देखिएको छ।

यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई सुप्रिम सहकारी हिनामिना र संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसपछि जिल्ला अदालत रूपन्देहीले उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सो आदेशविरुद्ध सरकारी वकिल र लामिछाने दुवैले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

देशभर चासोको विषय बनेको यो मुद्दामा आजको आदेश निर्णायक हुने अनुमान गरिएको छ।

✍️ आमा दर्शन न्यूज – काठमाडौं

प्रतिक्रिया