राप्रपालाई भृकुटीमण्डपमा आमसभा गर्न अनुमति नदिने प्रशासनको निर्णय

काठमाडौं, चैत २४ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेकाे आमसभाको लागि माग गरिएको अनुमति जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अस्वीकार गरेको छ।

प्रशासन कार्यालयका अनुसार राप्रपाले चैत २२ गते शुक्रबार अपराह्न ४:२१ बजे इमेलमार्फत आमसभा आयोजनाको अनुमति मागेको थियो। जवाफस्वरूप कार्यालयले चैत २४ गते आइतबार पठाएको पत्रमा भृकुटीमण्डपमा उक्त मितिमा कार्यक्रम आयोजना गर्न उपयुक्त नदेखिएको उल्लेख गरिएको छ।

प्रशासनले भनेको छ, “भृकुटीमण्डप क्षेत्रमा सोही मितिमा शिक्षक आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रम लगायतका पूर्व निर्धारित कार्यक्रमहरू रहेको हुँदा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी अनुमति दिन नसकिने निर्णय गरिएको हो।”

जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा प्रशासनले राप्रपालाई वैकल्पिक स्थानका रूपमा सिफल चौर वा बल्खु क्षेत्र प्रस्ताव गरेको छ।


प्रतिक्रिया