काठमाडौं: आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रमहरूको आयोजना गरी भव्यताका साथ मनाइएको छ।
पोखरामा नेपाल ठकुरी समाज, विश्व हिन्दू महासंघ, क्षेत्री समाज, ब्राम्हण समाज, भूपू सैनिक संगठन, र अन्य संघसंस्थाको सहकार्यमा एकता सभा सम्पन्न भयो। यसअघि, चिप्लेढुंगाबाट सुरु भएको र्याली न्यूरोड र सभागृहचोक हुँदै पृथ्वीचोकमा पुगेपछि सभामा परिणत भएको थियो। वक्ताहरूले पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकताको महत्वबारे धारणा व्यक्त गरे।
काठमाडौंमा भृकुटीमण्डपमा आयोजना गरिएको कार्यक्रमलाई देशभरकै मुख्य आकर्षण मानिएको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, परराष्ट्रमन्त्री आरजु राणा, नेकपा मालेका महासचिव सीपी मैनाली, सांसद, र विभिन्न दलका नेताहरू सहभागी भए।
सहभागीहरूले पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गर्दै राष्ट्रिय एकताका प्रतीकका रूपमा उनलाई स्मरण गरे। कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री ओलीलाई विशेष स्वागत गरे। प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै राष्ट्रिय एकता, सार्वभौमसत्ता र सम्प्रभुताको महत्वमा जोड दिए।
पृथ्वीनारायण शाहको ऐतिहासिक योगदान
विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले विभाजित नेपाललाई एकताबद्ध गरी आधुनिक नेपालको निर्माण गरेका थिए। विसं १७९९ मा गोरखाको सिंहासन सम्हालेपछि उनले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपाललाई विस्तार गर्न सफल भएका थिए। विशेषगरी, १८०१ मा नुवाकोट र १८२६ मा काठमाडौँ उपत्यकाको विजय उनको नेतृत्व क्षमताको उदाहरण मानिन्छ।
उनको योगदानलाई स्मरण गर्दै आज देशभर विभिन्न सांस्कृतिक, राजनीतिक र सामाजिक कार्यक्रमहरू आयोजना गरियो। कार्यक्रमहरूले राष्ट्रिय एकताको सन्देश प्रवाह गरेको आयोजकहरूले बताएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार