नेपालको पत्रकारिता सुधारका लागि कानुनी सुधारको माग

काठमाडौं । नेपालमा छापा, विद्युतीय, तथा अनलाइन पत्रकारितालाई अझ स्वच्छ, निष्पक्ष, तथ्यमा आधारित, अनुसासित, मर्यादित, विश्वसनीय र खोजमूलक बनाउन कानुनी सुधार आवश्यक रहेको विभिन्न पत्रकार संघ-संस्थाले माग गरेका छन्। हाल प्रस्तावित संचारसम्बन्धी विधेयकमा आवश्यक संशोधन गर्दै संचार क्षेत्रलाई थप पारदर्शी र प्रभावकारी बनाउनुपर्ने उनीहरूको भनाइ छ।

यस सन्दर्भमा पत्रकारिता क्षेत्रका सरोकारवालाहरूले सात बुँदे माग अघि सारेका छन्। उनीहरूले प्रेस काउन्सिलको अध्यक्ष नियुक्ति प्रक्रिया निष्पक्ष बनाउन, पत्रकारहरूको प्रमाणिकरण तथा परिचयपत्र वितरण प्रणालीलाई एकरूप बनाउन तथा पत्रकारहरूको व्यावसायिक विकासका लागि अनिवार्य तालिमको प्रावधान राख्न माग गरेका छन्।

पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा पनि उनीहरूले विशेष जोड दिएका छन्। खोज पत्रकारिता गर्ने पत्रकारहरूलाई हुन सक्ने सुरक्षा खतरा, दबाब वा अन्य जोखिमलाई सम्बोधन गर्न कानुनी संरचना आवश्यक रहेको उनीहरूको भनाइ छ। साथै, महिला पत्रकारहरूको कार्यस्थल सुरक्षाका लागि कार्यस्थल हिंसा, यौन उत्पीडन तथा अन्य मुद्दाहरू सम्बोधन गर्न संयन्त्र निर्माण गर्नुपर्ने माग गरिएको छ।

पत्रकारहरूको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न प्रेस काउन्सिलले मिडिया हाउसहरूले पारिश्रमिकको व्यवस्था गरिरहेको छ वा छैन भनेर निगरानी गर्नुपर्ने र आवश्यक परे कानुनी कारबाहीको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारिएको छ।

सरोकारवालाहरूले हाल प्रस्तावित विधेयकमा सुधार गरी संचार क्षेत्रलाई अझ मर्यादित, प्रभावकारी र पारदर्शी बनाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका छन्।

प्रतिक्रिया