काठमाडौंको तीनकुनेमा टिपर ठक्कर, एकजनाको मृत्यु

काठमाडौं, चैत २ – राजधानी काठमाडौंको तीनकुने क्षेत्रमा शनिबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का व्यक्ति घाइते भएका छन्।


काठमाडौं महानगरपालिका-३२ स्थित गैरीगाउँ पेट्रोल पम्प अगाडि बिहान करिब ४:३० बजे टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका थिए। घाइतेमध्ये काभ्रेको पनौती नगरपालिका-११ घर भई ललितपुरको धापाखेल बस्दै आएका अन्दाजी २६ वर्षीय सुकराम तामाङको उपचारका क्रममा मृत्यु भएको छ। उनलाई गम्भीर अवस्थामा ट्रमा सेन्टर पुर्‍याइएको थियो, तर बिहान साढे ५ बजे चिकित्सकले मृत घोषित गरेका हुन्।


दुर्घटनामा मोटरसाइकलमा सवार अर्का व्यक्ति, काभ्रेको बेथानचोक गाउँपालिका-६ निवासी ३० वर्षीय रमेश तामाङ घाइते भएका छन्। उनको हाल उपचार भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिएका छन्।


दुर्घटनापछि फरार भएको टिपर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको कार्गो भवन परिसरमा फेला परेको छ। दुर्घटनाका कारण र टिपर चालकको अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


– Aama Darshan News

प्रतिक्रिया