धरान, २०८२ असार २८ । वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरानद्वारा आगामी आर्थिक वर्ष २०८२/०८३ साउन १ गतेदेखि विमीत नागरिकलाई ‘प्रथम सेवा केन्द्र’को रूपमा सेवा नदिई केवल ‘प्रेषण केन्द्र’ (Referral Center) का रूपमा मात्र सेवा दिने निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी धरान उपमहानगर समितिले गम्भीर आपत्ति जनाएको छ।
नेपाल सरकार अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको नयाँ सूचीमा वि.पी. प्रतिष्ठानलाई प्रेषण केन्द्रमा राखेपछि, प्रतिष्ठानले मिति २०८२ असार २७ मा पत्र नं. ६९१०/०८१/०८२ जारी गर्दै विमीत सेवाग्राहीलाई सिधा सेवा नदिई रेफरमार्फत मात्र सेवा दिने घोषणा गरेको थियो।
उक्त निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी धरान समितिले प्रतिष्ठानका उपकूलपति श्रीमानलाई ध्यानाकर्षण पत्र मार्फत तत्काल निर्णय सच्याउन माग गरेको छ। समितिका नगर सभापति सुमन श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा धरान उपमहानगरपालिकामा कुनै सरकारी अस्पताल नभएको उल्लेख गर्दै, प्रतिष्ठानकै General Practice विभागलाई प्रथम सेवा केन्द्रको रूपमा प्रयोग गर्न सकिने विकल्प पनि सुझाइएको छ।
"विमीत नागरिकलाई सेवा लिन सास्ती हुने, धरान र आसपासका जनतालाई मार पर्ने र अनावश्यक रेफरल प्रक्रिया अपनाउनुपर्ने व्यवस्था किमार्थ स्वीकार्य छैन," ध्यानाकर्षण पत्रमा भनिएको छ। धरान उपमहानगरको २० वटै वडाका नागरिकहरूका लागि वि.पी. कोइरालाको जीपी विभागमार्फत सेवा सहज र गुणस्तरीय हुने समितिको भनाइ छ।
रास्वपाले निम्न दुई बुँदे माग पनि सार्वजनिक रूपमा राखेको छ:
१. वि.पी. प्रतिष्ठानले ‘प्रथम सेवा केन्द्र’ र ‘प्रेषण केन्द्र’ दुवैका लागि बीमा बोर्डमा यथाशिघ्र पत्राचार गर्नुपर्छ।
२. नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले प्रतिष्ठानलाई दुवै सेवा प्रदान गर्न अनुमति दिनुपर्छ।
समितिले चेतावनी दिँदै भनेको छ—"यदि धरानवासीको स्वास्थ्य अधिकार माथि खेलवाड गरियो भने जनस्तरबाट कडा संघर्ष गर्नेछौं।"
यस विषयमा स्वास्थ्य बीमा बोर्ड तथा वि.पी. प्रतिष्ठानको औपचारिक प्रतिक्रिया आउन बाँकी छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार