मन्त्री घिसिङ र भारतीय राजदूतबीच ऊर्जा तथा सिँचाइ क्षेत्रमा सहकार्यबारे छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा भारतीय राजदूत श्रीवास्तवले नवनियुक्त मन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, भारतीय सहयोगमा निर्माणाधीन आयोजनाको प्रगति र भविष्यका योजनाबारे विस्तृत छलफल गरिएको थियो।

सो अवसरमा महाकाली सिँचाइ (तेस्रो चरण)को नहरमार्फत नेपालतर्फ पानी पठाउने, भारतीय सहयोगमा निर्माण भइरहेको राहुघाट जलविद्युत आयोजना, इनरुवा–पूर्णिया र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन, तथा नेपालबाट भारततर्फ थप विद्युत् निर्यातका विषयमा कुराकानी भएको थियो।

मन्त्री घिसिङले दशैं–तिहारको समयमा आन्तरिक विद्युत् खपत घट्ने भएकाले थप विद्युत् निर्यातका लागि स्वीकृति दिन आग्रह गरेका थिए। हाल नेपालले भारतसहित बंगलादेशतर्फ १,१६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति पाएको छ भने थप १३८ मेगावाट निर्यातका लागि प्रस्ताव गरिएको छ।

भेटमा जेनजीको आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माणमा सहयोग गर्न भारत तयार रहेको जानकारी राजदूत श्रीवास्तवले दिएका थिए।

सो भेटमा मन्त्रालयका सचिव सरिता दवाडी, सहसचिव चिरञ्जीवी चटौत, सन्दीप कुमार देव तथा परराष्ट्र मन्त्रालय दक्षिण एशिया महाशाखाका शाखा अधिकृत प्रतिक कार्कीको पनि उपस्थिति थियो।

प्रतिक्रिया