— आमादर्शन न्यूज | काठमाडौं,
शनिबार बिहान काठमाडौं उपत्यकामा हावाहुरी, चट्याङ र मेघगर्जनसहितको भारी वर्षा सुरु भएको छ। बिहान करिब ८:३० बजेबाट मौसममा अचानक बदली आउँदा जनजीवन प्रभावित भएको छ।
मौसमविद् धर्मराज उप्रेतीका अनुसार यो मौसमी प्रणाली भारतको दिल्लीबाट सुरु भई शुक्रबार साँझ ४ बजे नेपालतर्फ सरेको हो। प्रारम्भिक अनुमान अनुसार प्रणाली कमजोर भएर आउने अपेक्षा गरिएको भए पनि, नेपाल प्रवेश गर्दा प्रणाली बलियो बनेको र त्यसका कारण प्रभाव बढी परेको उनले जानकारी दिए।
“दिल्लीबाट सुरु भएको प्रणाली काठमाडौं आइपुग्दा पूर्वानुमानभन्दा फरक तरिकाले स्ट्रङ बन्यो,” उप्रेतीले बताए, “यसको असर अहिले गण्डकी र बाग्मती प्रदेशभर फैलिएको छ भने काठमाडौंका केही भागमा अझै फैलिन बाँकी छ।”
उनका अनुसार यो प्रणाली अहिले मधेस हुँदै कोसी प्रदेशतर्फ सरेको छ। काठमाडौंमा आगामी दुईदेखि तीन घण्टा यसको प्रभाव रहने सम्भावना छ। दिउँसो करिब २ बजेपछि पुनः एकपटक वर्षा हुने र बेलुका ८ बजेपछि फेरि पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए।
जल तथा मौसम विज्ञान विभागले पनि काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको पुष्टि गरेको छ। विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार दिउँसो पनि वर्षा जारी रहनेछ।
विभागका अनुसार हाल पश्चिमी वायुसँगै स्थानीय वायु र अरब सागरबाट आउने जलवाष्पयुक्त हावाको प्रभावका कारण यस्तो मौसमी अवस्था देखिएको हो।
नोट:
सुरक्षाका लागि चट्याङबाट बच्न सुरक्षित स्थानमा बस्न, बाहिर ननिस्कन, र मौसमसम्बन्धी सूचना तथा सचेतनामाथि ध्यान दिन आमादर्शन न्यूज आग्रह गर्दछ।
थप जानकारीका लागि हामीसँगै रहनुहोस् — आमादर्शन न्यूज
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय