काठमाडौँ, — नेपालका प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले पाकिस्तान सिनेटका अध्यक्ष युसुफ राजा गिलानीसँग इस्लामावादस्थित उनको सरकारी निवासमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र पाकिस्तानबीचको पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउने र द्विपक्षीय सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा गहन छलफल भएको छ।
इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टिस (ICAPP) का सहअध्यक्ष सिनेटर मुशाहिद हुसेन सैयद लगायत अन्य उच्च पाकिस्तानी नेताहरूसँग पनि सांसद ढकालले भेटवार्ता गरेका छन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य ढकाल हाल पाकिस्तानमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत तथा कानुनी शासन सम्बन्धी १३औँ संसदीय परामर्शदात्री सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी छन्।
नेपाल परिवार दलका अध्यक्ष ढकालसँगै यस भ्रमणमा नेपाल परिवार दलका महामन्त्री सन्तोष पौडेल पनि रहेका छन्। भ्रमणका क्रममा ढकालले नेपाल र पाकिस्तानबीच आर्थिक, सांस्कृतिक, र राजनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन द्विपक्षीय सहयोगका सम्भावनाहरूमा व्यापक छलफल गरेका छन्।
यो भ्रमणले नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ, जसले दुवै देशबीचको मित्रता र आपसी समझदारीलाई अझ बलियो बनाउन योगदान पुर्याउने विश्वास छ।