देश विकासका एजेन्डामा एकताबद्ध हुन सांसद एकनाथ ढकालको आग्रह

काठमाडौँ, माघ २४ – प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले देश विकासका प्रमुख एजेन्डाहरूमा सबै दल र सांसदहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकतामा जोड दिएका छन्। बिहीबारको संसद बैठकमा बोल्दै सांसद ढकालले नेपाल सरकारले संसदमा पेश गरेका ६ वटा अध्यादेश जनहितमैत्री रहेको उल्लेख गर्दै तिनको पारित गर्नुपर्ने आवश्यकता औंल्याए।


उनका अनुसार, सरकारले २९ वटा ऐन संशोधन गर्ने उद्देश्यसहित यी अध्यादेश ल्याएको हो, जसले सार्वजनिक सेवामा सुधार ल्याउने, व्यावसायिक क्षेत्रको मनोबल उच्च बनाउने तथा आम जनताले भोग्दै आएका विभिन्न समस्याहरू समाधान गर्ने उद्देश्य राखेको छ।


“सेवाग्राहीको काम ७ दिनभित्र सम्पन्न गर्ने, उद्योग दर्ता १५ दिनमै गर्ने जस्ता व्यवस्था लाखौं नागरिकलाई प्रत्यक्ष लाभ दिने भएकाले यी अध्यादेश अत्यन्त जनपक्षीय छन्।” सांसद ढकालले भने।


सांसद ढकालले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठनदेखि सूचना प्रविधि क्षेत्रमा नयाँ क्रान्ति ल्याउने प्रावधानहरूसमेत समेटिएका यी अध्यादेशहरूले सुशासन र व्यवसायिक वातावरण निर्माणमा ठोस योगदान दिने दाबी गरे।


उनले संसदका सबै सदस्यलाई यी अध्यादेश पारित गर्न सरकारलाई साथ दिन आग्रह गर्दै भने, “हामी सबैले देश विकासका एजेन्डामा एकताबद्ध भएर अघि बढ्नुपर्छ।”


Aama Darshan News

प्रतिक्रिया