काठमाडौं, चैत १२ – नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार साँझ पदभार ग्रहण गरेका छन्। प्राधिकरणको कार्यालयमा आयोजित कार्यक्रममा उनलाई कर्मचारीहरूले फूलमाला र खादा लगाएर स्वागत गरे।
पदभार ग्रहणपछि शाक्यले आफूले अदालतमा साढे तीन वर्षसम्म न्यायको खोजी गरे पनि सफलता नपाएको उल्लेख गर्दै अहिलेको सरकारले पुनः जिम्मेवारी सुम्पिएकोमा न्याय प्राप्त भएको महसुस भएको बताए।
“साढे ३ वर्ष न्यायका लागि अदालतको ढोका ढक्ढकाइरहेको थिएँ। २०७५ मा चार वर्षका लागि नियुक्त भए पनि ६ महिना बाँकी रहँदै जिम्मेवारी खोसियो, त्यसपछि न्याय माग्दै अदालत पुगेँ। तर, अदालतबाट न्याय पाउन सकिनँ। यही माघ २५ गते मेरो नियुक्ति सकिएको थियो। अब पुनः नियुक्त भएपछि न्याय पाएको महसुस गरेको छु,” शाक्यले भने।
उनले आफ्नो नेतृत्वमा विद्युत प्राधिकरणलाई अझ सक्षम, पारदर्शी र प्रभावकारी बनाउन प्रतिबद्ध रहेको बताएका छन्। साथै, ऊर्जा क्षेत्रका दीर्घकालीन योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार र सरोकारवालासँग समन्वय गर्ने बताए।
शाक्यको पुनर्नियुक्तिलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन्। ऊर्जा क्षेत्रका विज्ञहरूले उनको अनुभवलाई उपयोगी मान्दै प्राधिकरणको कार्यक्षमतामा सुधार आउने अपेक्षा गरेका छन्।
नयाँ नेतृत्वसँग ऊर्जा क्षेत्रमा सुधारको अपेक्षा
नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा फेरि आएका शाक्यलाई ऊर्जा क्षेत्रमा सुधारका लागि चुनौतीपूर्ण जिम्मेवारी रहेको छ। विद्युत आपूर्ति सुधार, प्रसारण लाइन विस्तार, लोडसेडिङ न्यूनिकरण तथा लगानी मैत्री वातावरण निर्माण जस्ता विषयहरू उनका प्राथमिकतामा रहने अनुमान गरिएको छ।
उनको कार्यकालमा सरकारले ऊर्जा उत्पादन, वितरण र व्यवस्थापनमा के कस्ता सुधार गर्छ भन्ने विषयलाई सरोकारवाला पक्षले चासोका साथ हेरिरहेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता