दुर्गा प्रसाईँ पक्राउ, नागरिक बचाउ दलको आजैदेखि आन्दोलनको घोषणा

काठमाडौं — विवादित मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई नेपाल प्रहरीले सोमबार भक्तपुरको ठिमीस्थित उनको निवासबाट पक्राउ गरेको छ। शान्ति–सुरक्षामा खलल पुर्‍याउने गतिविधि सञ्चालन गर्न खोजेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसर, भद्रकालीमा उपस्थित गराएको जनाएको छ।


प्रसाईँले सोमबारै पत्रकार सम्मेलन गरी आगामी मंसिर ७ गते देशव्यापी आन्दोलनमार्फत “देश नै ठप्प पार्ने” कार्यक्रम घोषणा गरेका थिए। उनले गणतन्त्र र भ्रष्टाचारविरुद्ध काठमाडौंबाट ‘निर्णायक’ आन्दोलन सुरु गर्ने तयारी रहेको बताएका थिए।


उनको गिरफ्तारीपछि प्रसाईँको संरक्षणमा रहेको नागरिक बचाउ दलले आजैदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। संगठनका महामन्त्री प्रेमकुमार थाम्सुहाङले प्रसाईँलाई “अपहरण शैलीमा” पक्राउ गरिएको आरोप लगाउँदै सरकारले नै शान्ति भंग गरेको दाबी गरेका छन्।


थाम्सुहाङका अनुसार, “हामी मंसिर ७ गते नपर्खिकन आजैदेखि सडक संघर्षमा उत्रिन्छौँ।”

उनले प्रसाईँको रिहाइ नहुँदासम्म चरणबद्ध आन्दोलन जारी रहने चेतावनी पनि दिए।

प्रतिक्रिया