—आमा दर्शन न्यूज
काठमाडौं, वैशाख १० — लोकतन्त्र दिवसको अवसरमा सत्तारूढ नेकपा (एमाले) ले वैशाख ११ गते काठमाडौंमा भव्य युवा उत्सव आयोजना गर्ने भएको छ। लोकतन्त्रको स्थापनाको ऐतिहासिक दिनलाई स्मरण गर्दै आयोजना गर्न लागिएको यस उत्सवमा देशभरका हजारौं युवाको सहभागिता सुनिश्चित गर्न पार्टीले व्यापक तयारी अघि बढाएको छ।
पार्टीले केन्द्रदेखि स्थानीय तहसम्मका सम्पूर्ण कमिटीहरूलाई निर्देशन दिँदै, उत्सवमा युवाको उच्च उपस्थितिको लक्ष्य राखेको छ। एमालेको संगठनमा ३३ प्रतिशत युवा सहभागिता अनिवार्य गरिएको सन्दर्भमा, ती सबै युवालाई वैशाख ११ गतेको कार्यक्रममा अनिवार्य रूपमा सहभागी गराउन निर्देशन दिइएको हो।
एमाले महासचिव शंकर पोखरेलद्वारा जारी निर्देशअनुसार, जिल्ला कमिटीमा रहेका १५ प्रतिशत र प्रदेश कमिटीमा रहेका १० प्रतिशत युवा सदस्यहरूलाई पनि अनिवार्य रूपमा कार्यक्रममा उपस्थित गराउने तयारी गरिएको छ।
त्यस्तै, पार्टीका सबै स्थानीय जनप्रतिनिधिहरू — मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष, र वडा अध्यक्षहरूलाई समेत कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको छ।
एमालेले ‘लोकतन्त्रको उत्सव, युवाको सहभागिता’ भन्ने नारासहित यो कार्यक्रम आयोजना गर्न लागेको हो। क्लस्टर प्रणालीमार्फत देशभरबाट सहभागीहरूलाई व्यवस्थापन गर्न पार्टीले विशेष योजना लागू गरिसकेको जनाएको छ।
उक्त उत्सवमा लोकतान्त्रिक मूल्य, युवा नेतृत्वको भूमिका र समसामयिक राजनीतिक सन्दर्भमा पार्टीको दृष्टिकोण सार्वजनिक गरिने अनुमान गरिएको छ।
(थप समाचार र अपडेटका लागि www.aamadarshannews.com हेर्नुहोस्।)
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता