काठमाडौँ । सरकारले भ्रष्टाचारका प्रकरणलाई थप प्रभावकारी ढंगले छानबिन गर्न नयाँ उच्चस्तरीय आयोग गठन गर्ने सहमति जेनजी २.० राष्ट्रिय अभियानसँग गरेको छ। बुधबार साँझ सिंहदरबारमा सम्पन्न छलफलपछि दुवै पक्षले कानुनी प्रक्रिया अघि बढाएर छिट्टै आयोग गठन गर्ने समझदारीमा पुगेका हुन्।
गृहमन्त्री ओमप्रकाश अर्यालसँगको भेटमा जेनजी २.० का प्रतिनिधिहरूले देशभर बढ्दो भ्रष्टाचार, ढिलासुस्ती र ठूला मुद्दाहरू थन्किएको अवस्थाप्रति गम्भीर चासो व्यक्त गरेका थिए। उनीहरूले तत्काल प्रभावकारी, स्वतन्त्र र प्राविधिक रूपमा सक्षम आयोग गठन गर्न सरकारलाई आग्रह गरेका थिए।
गृहमन्त्री अर्यालले जेनजी टोलीलाई सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिमा दृढ रहेको बताउँदै आवश्यक कानुनी व्यवस्था मिलाएर आयोग गठनलाई अघि बढाइने आश्वासन दिएका छन्। उनले सरकारका विभिन्न संयन्त्रले पर्याप्त नपुगेका संवेदनशील मुद्दामा आयोगले विशेष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
जेनजी २.० राष्ट्रिय अभियानले हालै सार्वजनिक क्षेत्र, शिक्षा, स्वास्थ्य, ऊर्जा तथा युवासम्बन्धी नीतिगत समस्या समाधान गर्न सरकारलाई ५ बुँदे ज्ञापनपत्र बुझाएको थियो। भ्रष्टाचार नियन्त्रण तथा पारदर्शिता सुनिश्चित गर्न उनीहरूले निरन्तर जनदबाब जारी राख्ने बताउँदै आएका छन्।
सरकार र जेनजीबीचको सहमतिसँगै आगामी दिनमा गठन हुने आयोगले उच्चस्तरीय निर्णयहरू, ठूला आर्थिक अनियमितता, सार्वजनिक सम्पत्तिमा देखिएका दुरुपयोग र नीति निर्माणमा प्रभाव पार्ने सम्भावित भ्रष्टाचारसम्बन्धी मुद्दाहरू छानबिन गर्ने अपेक्षा गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता