काठमाडौं, – नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले पूर्वआईजीपी तथा एमाले नेता सर्वेन्द्र खनाललाई लक्षित गर्दै कटाक्ष गरेका छन्। खनालले हालै सामाजिक सञ्जालमार्फत आफू एमालेसँग आबद्ध नरहेको घोषणा गरेपछि बास्कोटाले उनको निर्णयप्रति टिप्पणी गरेका हुन्।
बास्कोटाले सामाजिक सञ्जालमा लेख्दै, पार्टीको पहिचानमार्फत राजनीतिक उचाइ हासिल गरेका व्यक्तिहरू अन्ततः पार्टीविरुद्ध जाने प्रवृत्ति देखिएको उल्लेख गरे। “हाईट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यु चोली लगाएर बढाए। खाएको थालमा चुठ्नु राम्रो होइन,” उनले लेखेका छन्।
स्वार्थपूर्ति भन्दा सङ्घर्ष महत्वपूर्ण
बास्कोटाले नेतृत्वप्रतिको निष्ठा संकट, त्याग, र सङ्घर्षको समयमा मात्र प्रमाणित हुने भन्दै, स्वार्थ पूर्तिका लागि मात्र जोडिने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। “आफ्नै लागि आउनेहरू आए, सकेजति लाभ लिए र गए। तर, झनै गएपछि पार्टीलाई सराप्ने संस्कार वाहियात नै हो,” उनले टिप्पणी गरे।
खनालले आफ्नो फेसबुक स्टाटसमार्फत एमालेसँग औपचारिक रूपमा सम्बन्ध नरहेको स्पष्ट पारेका थिए। केही समयअघि उनी रास्वपाका सभापति रवि लामिछानेसँग निकट देखिएका थिए। खनालको घोषणापछि बास्कोटाले दिएको प्रतिक्रियाले एमालेभित्र असन्तुष्ट नेताहरूको मनोदशा झल्काउने विश्लेषण गरिएको छ।
—
Aama Darshan News