रास्वपाले झापाबाट जनयात्रा सुरु गर्ने, कार्यविधि तय भएपछिमात्र सुरू हुने



काठमाडौं, वैशाख १८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनयात्राको थालनी झापाबाट गर्ने निर्णय गरेको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, पूर्व वा पश्चिमबाट यात्रा सुरू गर्ने भन्नेबारे पार्टीभित्र लामो छलफलपछि झापाबाटै यात्रा सुरु गर्ने निष्कर्ष निकालिएको हो।


यसअघि चैत २३ गते रास्वपाले चितवनको नारायणी किनारबाट जनयात्राको उद्घाटन गरेको भए पनि त्यसपछि यात्रा अघि बढ्न सकेको थिएन। त्यसपछि यात्रा पूर्वबाट थाल्ने कि पश्चिमबाट भन्ने बहस पार्टीभित्र चलेको थियो। सम्भाव्यता अध्ययनका लागि प्रतिनिधिसभा सदस्य निशा डाँगीलाई पूर्व र अशोक चौधरीलाई पश्चिम खटाइएको थियो।


दुवै सांसदको अध्ययन प्रतिवेदन र पार्टीको अन्तिम छलफलपछि पूर्वबाटै जनयात्रा सुरू गर्ने निर्णयमा पुगेको जनाइएको छ। तर यात्रा तत्काल सुरू नहुने पनि झाले स्पष्ट पारे।


गत चैत १८ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले जनयात्राको कार्यविधि तयार पार्ने जिम्मा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई दिएको छ। कार्यविधि तयार भएपछि मात्र यात्रा अघि बढ्ने जनाइएको छ।

प्रतिक्रिया