काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनलाई नियन्त्रणमा लिएको हो। लामिछानेमाथि सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोप लागेको छ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले लामिछानेलाई पक्राउ गरिएको पुष्टि गरेका छन्। कास्की जिल्ला अदालतले अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो। अदालतको आदेशअनुसार, जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले पुर्जी लिएर बनस्थलीस्थित रास्वपाको कार्यालय पुगेपछि लामिछानेलाई पक्राउ गरिएको थियो। सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याई अपचलन गरेको आरोप लगाइएको छ।
पक्राउ पर्नुअघि लामिछानेले पार्टी कार्यालयमा कार्यकर्ता र सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू निर्दोष रहेको र न्यायिक प्रक्रियामा पूर्ण सहयोग गर्ने बताएका छन्।