नेपालको लोकतन्त्रको रक्षा गर्न परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने: अध्यक्ष माधवकुमार नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्वहरू सल्बलाउन थालेको भन्दै लोकतन्त्रको रक्षा गर्न परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा उनले जनताको लामो सङ्घर्षबाट प्राप्त अधिकार तथा वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे।

अध्यक्ष नेपालले सरकारलाई कार्यशैली सुधार गर्दै गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने सुझाव दिए। उनले भने, “प्रतिगामी यथास्थितिवादीहरूले अहिले टाउको उठाउन थालेका छन्। सो विषयलाई पार्टीले गम्भीर रूपमा लिएको छ।”

हालैका दिनहरूमा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न सहरहरूमा भइरहेका प्रदर्शनहरूबारे टिप्पणी गर्दै उनले यी आन्दोलनहरू सरकारमाथि मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार गर्ने खालका भएको बताए।

अध्यक्ष नेपालले लोकतन्त्र तथा संविधानको रक्षा गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको बलिदान र संघर्षबाट प्राप्त उपलब्धि भएकाले यसको रक्षा गर्न सबै पक्ष एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गरे।

“संविधानको उल्लङ्घन गर्ने छुट कसैलाई पनि छैन। सङ्घीय लोकतन्त्रलाई ध्वस्त पार्ने षड्यन्त्र भइरहेको छ, त्यसैले जनता चनाखो हुन आवश्यक छ,” उनले थपे।

Write something...

उनले लोकतन्त्रको रक्षा र संविधानको कार्यान्वयन सुनिश्चित गर्न सबै परिवर्तनकारी शक्तिहरूले ऐक्यबद्धता जनाउनुपर्नेमा पनि जोड दिए।

प्रतिक्रिया