रास्वपाको माग : विदेशमा रहेका नेपालीलाई उपनिर्वाचनबाटै मतदानको व्यवस्था गरियोस्


✍️ अामा दर्शन न्यूज | काठमाडौं


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनदेखि विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदान गर्न दिने कानुनी तथा व्यवस्थापकीय आधार सुनिश्चित गर्न माग गरेको छ।


निर्वाचन आयोगद्वारा आयोजित सर्वदलीय छलफल कार्यक्रममा रास्वपाले विशेष आग्रह गर्दै भन्यो, “यदि आयोग साँच्चिकै गम्भीर छ भने, यही उपनिर्वाचनबाटै विदेशबाट मतदानको व्यवस्था कार्यान्वयन गरेर देखाओस्।”


रास्वपाका अनुसार लाखौँ नेपाली नागरिकहरू वैदेशिक रोजगारी र अध्ययनको सिलसिलामा विदेशमा रहेका छन्, जसले देशको लोकतान्त्रिक प्रक्रियामा सहभागिता जनाउन पाउने अधिकार सुनिश्चित हुनुपर्छ।


पार्टीका प्रतिनिधिले भने, “कागजी प्रतिबद्धतामात्र हैन, अब कार्यान्वयनमा देखाउनुपर्छ। प्रविधिको प्रयोग गर्दै सहज र विश्वसनीय प्रणालीमार्फत वैदेशिक मताधिकार कार्यान्वयन गर्न सकिन्छ।”


यो विषयमा अन्य दलहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्। निर्वाचन आयोगले भने सम्भाव्यता अध्ययन भइरहेको जनाउँदै सबै पक्षसँग समन्वय गरेर नीतिगत निर्णय लिइने उल्लेख गरेको छ।


यदि आयोगले यो प्रस्तावलाई आगामी उपनिर्वाचनबाटै लागू गर्न सके, भने नेपालको निर्वाचन प्रणालीमा ऐतिहासिक परिवर्तन हुने विश्वास गरिएको छ।


प्रतिक्रिया