काठमाडौं: सरकारले नागरिकलाई विभिन्न सरकारीसेवाहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याएको नागरिक एपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवरण थपिएको छ। हालको अपडेटमा प्रयोगकर्ताहरूले आफ्नो लाइसेन्ससँगै क्यूआर कोड पनि देख्न सक्नेछन्, जसले लाइसेन्स जाँच प्रक्रिया सरल बनाउने लक्ष्य राखेको छ।
यातायात व्यवस्था विभागमा लाइसेन्स छाप्नका लागि भइरहेको जटिलताबीच, ट्राफिक प्रहरीले अब अनलाइनमार्फत ‘डिजिटल लाइसेन्स’लाई मान्यता दिने प्रक्रिया अघि बढाएको छ। यस अनुसार, ट्राफिक प्रहरी नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरेर चालकको पूर्ण विवरण प्राप्त गर्न सक्षम हुनेछन्।
प्रहरीका लागि यो नयाँ व्यवस्था लागू भएपछि, उनीहरूले लाइसेन्स जाँच गर्दै नियम उल्लंघनको विवरण पनि सहजै प्राप्त गर्न सक्नेछन्। यो प्रणाली लागू भएसँगै, ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिहरूलाई घटनास्थलमै अनलाइनमार्फत जरिवाना तिर्न सक्ने सुविधा पनि उपलब्ध गराउने योजना बनाइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहराले यस नयाँ प्रणालीको परीक्षण चलिरहेको जानकारी दिए। “हामी चाँडै नै यसलाई औपचारिक रूपमा घोषणा गर्ने छौं, त्यसपछि अनलाइनबाट जरिबाना तिर्न सक्ने व्यवस्था लागू हुनेछ,” उनले भने।
नागरिक एपको विकासमा संलग्न अधिकारीका अनुसार, डिजिटल लाइसेन्सलाई प्रयोगमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ। सफल परीक्षणपछि, यो प्रणालीलाई औपचारिक मान्यता प्रदान गरिनेछ। नागरिक एपमार्फत, प्रयोगकर्ताहरूले विभिन्न सरकारी सेवा र जानकारी प्राप्त गर्न सक्नेछन्, र हाल विभिन्न सेवाहरू थप्ने प्रक्रियामा रहेको जानकारी पनि दिइएको छ।