राष्ट्रिय सभा उपाध्यक्षमा सत्तारूढ दल नेकपा (एमाले) की सांसद विमला घिमिरे निर्वाचित भएकी छन्।
राष्ट्रिय सभामा बुधबार भएको मतदानबाट घिमिरे ३९ मत ल्याएर उपाध्यक्ष निर्वाचित भएकी हुन्। उनलाई एमालेसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि समर्थन गरेको थियो।
घिमिरेलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा ३९ र विपक्षमा १६ मत परेको छ।
घिमिरेको प्रस्तावको पक्षमा प्राप्त भएको मत राष्ट्रिय सभाको मौजुदा संख्याको बहुमत रहेकाले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले उनलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरे।
राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको थियो।
तस्विर :आमा दर्शन न्युज/जेन श्रेष्ठ
२८ चैत २०८०, बुधबार १०:१५ मा प्रकाशित