काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ प्राप्त गरेको छ। इक्रा नेपाल लिमिटेडले प्राधिकरणको वित्तीय स्थायित्व, व्यवस्थापकीय क्षमता, सम्पत्ति तथा ऋण भुक्तानी जोखिमको विश्लेषण गरी यो रेटिङ प्रदान गरेको हो। लगातार तेस्रो पटक यो रेटिङ प्राप्त गर्नुले प्राधिकरणको आर्थिक र व्यवस्थापकीय सुदृढता स्पष्ट देखाएको छ।
इक्रा नेपालले दिएको जानकारीअनुसार ‘डबल ए प्लस’ रेटिङ पाउने संस्था आफ्नो आर्थिक दायित्व समयमै पूरा गर्न उच्च क्षमतायुक्त मानिन्छ र यससँग न्यूनतम ऋण भुक्तानी जोखिम रहन्छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रेटिङ प्राप्ति संस्थाको वित्तीय स्वास्थ्य र साखको सूचक रहेको बताए। उनले भने, “रेटिङको आधारमा सेयर निष्काशनको प्रक्रिया अगाडि बढाउन सरकारको स्वीकृति पर्खिरहेका छौँ। सेयरबाट सङ्कलित रकम ठूला जलविद्युत् आयोजनामा लगानी गरिनेछ।”
हाल प्राधिकरणको वार्षिक आम्दानी १ खर्ब १६ अर्ब र सम्पत्ति ७ खर्ब रुपैयाँभन्दा बढी रहेको छ। प्राधिकरणले आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड घाटामा रहेको अवस्थामा सुधार गर्दै गत आर्थिक वर्षमा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाउन सफल भएको थियो।
प्राधिकरणले झण्डै ११ हजार मेगावाट विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ, जसले जलविद्युत् आयोजनाहरूलाई आर्थिक जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ।
विद्युत् चुहावट घटाउन, राजस्व वृद्धि गर्न, र विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउन प्राधिकरणले सुधारका महत्त्वपूर्ण योजना कार्यान्वयन गरिरहेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आर्थिक न्यूज़