काठमाडौं, वैशाख ८ — प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामार्फत सहमति गरेर तत्काल विद्यालय फर्किन आग्रह गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित नेकपा (एमाले) निकट प्राध्यापक सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षाको क्षेत्रलाई आन्दोलनले झनै क्षति पु-याउने भन्दै विद्यालय शिक्षामा अविलम्ब स्थायित्व ल्याउनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले भने, “आन्दोलन गरेर शिक्षकहरूलाई फाइदा छैन, घाटा विद्यार्थीलाई भएको छ। सरकार मागप्रति नकारात्मक छैन। औपचारिक वार्तामा आउनुस्, सहमति गरेर काममा फर्किनुस्। आन्दोलन गर्ने तर वार्ता नगर्ने भन्ने त अनौठो भयो।”
उनले ५२ प्रतिशत बालबालिका फेल भएको उल्लेख गर्दै शिक्षकहरूले त्यसमा चित्त दुखाएको सुनेको बताए। तर समयमै नतिजा प्रकाशन गर्नु आवश्यक रहेको बताउँदै उनले पूरक परीक्षा प्रणाली सुरु भएकाले त्यसको तयारीमा जुट्न शिक्षकहरूलाई निर्देशन दिए।
प्रधानमन्त्री ओलीले हालको आन्दोलन प्रतिगामी शक्तिहरूको रणनीतिक हिस्सा भएको दाबी गर्दै भने, “अहिले अराजकतावादीहरू सलबलाएका छन्। प्रतिगामी शक्तिहरूले उपद्रव मच्चाइरहेका छन्। यस्तो बेला आन्दोलनले तिनलाई बल पुर्याउँछ।”
उनले सरकार संविधानसम्मत मागप्रति सकारात्मक रहने तर कानूनविपरीतका गतिविधिलाई नियन्त्रण गर्ने स्पष्ट सन्देश दिए। साथै, शिक्षकहरूलाई नयाँ विद्यार्थी भर्ना लिएर शिक्षणमा फर्किन र राष्ट्रिय शिक्षाको सुधारतर्फ अघि बढ्न आह्वानसमेत गरे।
— Aama Darshan News
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता