काठमाडौं–पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनमा दुर्घटना: अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

काठमाडौं, – काठमाडौं–पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज र मेयर आचार्यलाई फिस्टेल अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। प्राथमिक उपचारपछि गम्भीर जलनको सम्भावनालाई ध्यानमा राख्दै दुवैलाई काठमाडौं स्थानान्तरण गरिएको हो।

कीर्तिपुर अस्पतालले सार्वजनिक गरेको स्वास्थ्य विवरणअनुसार दुवै नेताको शरीरको करिब ५–६ प्रतिशत भाग जलेको छ। चिकित्सकहरूका अनुसार अनुहारमा समेत असर परेका कारण स्वासनली र फोक्सोमा समस्या हुन सक्ने भएकाले उच्च निगरानीमा राखेर उपचार भइरहेको छ।

विशेषज्ञ टोली खटाइयो
अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीका अनुसार पौडेल र आचार्यको उपचारका लागि जलन विशेषज्ञहरूको टोली परिचालन गरिएको छ। सघन उपचार कक्षमा प्राडा बीडी झा, डा. प्रविण गिरी, प्राडा शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादव लगायतको चिकित्सक टोली संलग्न छ।

यसैगरी, आकस्मिक उपचारका लागि डा. प्रयुस अर्याल नेतृत्वको टोली तथा रिता गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली उपचारमा खटिएको छ।

सरकारले दुर्घटनाबारे अनुसन्धान थालिसकेको जनाएको छ। पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा यस प्रकारको अप्रिय घटना घट्नुलाई धेरैले सुरक्षा व्यवस्थाको कमजोरीका रूपमा हेरेका छन्।

प्रतिक्रिया