अब स्वास्थ्य बीमामा टाढा जानु नपर्ने: आफू बसेकै स्थानबाट सेवा लिन सकिने

स्वास्थ्य बीमा गरेका नागरिकले अबदेखि आफू बसोबास गरिरहेकै स्थानबाट ‘प्रथम सेवा बिन्दु’ (First Point of Contact) कायम गरी बीमासम्बन्धी सेवा सहजै लिन सक्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा स्वास्थ्य बीमा नियमावली संशोधन गर्दै मन्त्रिपरिषदले यो निर्णय गरेको हो।

यसअघि बीमा गरेको स्थानबाट अन्यत्र गएकाले सेवा लिन आफ्नो पुरानै स्थान पुग्नुपर्ने बाध्यता थियो। अब भने उनीहरूले आफ्नो हालको बसोबास स्थानमै सेवा लिन सक्नेछन्।

मन्त्री पौडेलले भने, "स्वास्थ्य बीमामा आम नागरिकको पहुँच वृद्धि गर्न संशोधन आवश्यक थियो। स्वास्थ्य बीमालाई व्यवहारिक र सहज बनाउन यसले महत्वपूर्ण भूमिका खेल्नेछ।"

स्वास्थ्य बीमा कार्यालयका अनुसार, अबदेखि स्थानीय, प्रदेश र संघीय तीनै तहमा प्रथम सेवा बिन्दु कायम गरिनेछ। यसले गर्दा बीमा सेवाको पहुँच व्यापक हुनेछ र नागरिकलाई प्राथमिक स्वास्थ्य सेवाका लागि टाढा जानु नपर्ने अवस्था सिर्जना हुनेछ।

स्वास्थ्य बीमामा आवद्ध हुँदै आएका नागरिकहरूले पहिले देखि नै यस्तो सुविधा माग गर्दै आएका थिए। यस निर्णयसँगै स्वास्थ्य बीमालाई प्रभावकारी र नागरिकमैत्री बनाउने दिशामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


📢 आमा दर्शन न्यूज — सत्य, तथ्य र जनपक्षीय आवाज

प्रतिक्रिया