काठमाडौँ । थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा पुनः हिंसा भड्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने करिब पाँच लाख मानिस विस्थापित भएका छन्। गत सोमबारदेखि दुई देशबीच सीमा क्षेत्रमा फेरि झडप सुरु भएको हो।
थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुल र उनका कम्बोडियाली समकक्षी हुन मानेटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो घोषणाबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। यद्यपि, ट्रम्पसँगको टेलिफोन कुराकानीपछि प्रधानमन्त्री चार्नविराकुलले कम्बोडियाले गोलाबारी बन्द गरी सेना फिर्ता गरे र बिछ्याइएका बारुदी सुरुङ हटाए युद्धविराम सम्भव हुने बताएका छन्।
सोमबार बिहान दुवै देशले एक–अर्कामाथि सीमा क्षेत्रमा पहिले आक्रमण गरेको आरोप लगाएका थिए। त्यसयता हिंसा झन् चर्किँदै गएको छ। केही महिनाअघि अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा दुई देशबीच शान्ति सम्झौता भएको भए पनि पुनः आक्रमण भएको हो।
गत जुलाईमा पाँच दिनसम्म चलेको झडपमा ३० भन्दा बढी व्यक्तिको ज्यान गएको थियो भने हजारौँ मानिस घरबार छोड्न बाध्य भएका थिए।
थाइल्याण्डको दाबीअनुसार कम्बोडियाले सीमामा भारी हतियार जम्मा गर्दै आफ्ना सेनाहरू पुनः तैनाथ गरिरहेको थियो, जसको प्रतिक्रियास्वरूप हवाई आक्रमण गरिएको बताइएको छ।
प्रेह विहार मन्दिर विवादको जरो
थाइल्याण्ड र कम्बोडिया लामो समयदेखि सीमामा अवस्थित प्राचीन शिव मन्दिर प्रेह विहारलाई लिएर विवादमा छन्। मन्दिर कम्बोडियाको सिमानाभित्र पर्ने भए पनि दुवै देशले वरपरको भू–भागमाथि स्वामित्व दाबी गर्दै आएका छन्।
थाइल्याण्डले मन्दिरको नियन्त्रण लिन प्रयास गरेपछि कम्बोडियाले सन् १९५९ मा यो विषय अन्तर्राष्ट्रिय अदालतमा पुर्याएको थियो। सन् १९६२ मा अदालतले प्रेह विहार मन्दिर कम्बोडियाको भएको फैसला सुनाउँदै थाइल्याण्डलाई आफ्ना सेना फिर्ता लिन आदेश दिएको थियो। थाइल्याण्डले फैसला स्वीकार गरे पनि वरपरको जग्गाबारे विवाद भने कायम रह्यो।
सन् २००८ मा प्रेह विहार मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गरेपछि विवाद झन् चर्किएको थियो र त्यसयता पटक–पटक दुवै देशका सेनाबीच झडप हुँदै आएका छन्।
Aama Darshan News Desk
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता