बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू, नयाँ प्रहरी महानिरीक्षक नियुक्त हुने सम्भावना

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि मन्त्रिपरिषद् बैठक सुरू भएको छ। आजको बैठक नियमित भए पनि नेपाल प्रहरीको नेतृत्व परिवर्तनका कारण विशेष रूपमा हेरिएको छ।

बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने बताइएको छ। साथै, नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर आजदेखि अवकाशमा जाँदै भएकाले मन्त्रिपरिषद् बैठकले नयाँ आइजिपी नियुक्त गर्ने सम्भावना रहेको छ।

नयाँ प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धी निर्णय सरकारको प्राथमिकतामा रहेको स्रोतहरूले जनाएका छन्। कुँवरको अवकाशपछि नेतृत्व सम्हाल्ने प्रहरी अधिकृतको नामबारे विभिन्न अड्कलबाजी भइरहेका छन्।

सरकारले वरिष्ठता, कार्यकुशलता तथा प्रशासनिक अनुभवका आधारमा नयाँ आइजिपी चयन गर्ने अपेक्षा गरिएको छ। बैठक सकिएपछि मात्र निर्णयबारे औपचारिक जानकारी आउनेछ।

प्रतिक्रिया