जोमसोम—हिउँदयामको प्रतिकुल मौसमसंगै गत कार्तिक २७ देखि उपल्लो मुस्ताङका दुई गाउँपालिकाका लागि खुल्ला गरिएको (नेचुङ—लिजी ) कोरलानाका शुक्रबारदेखि सामान किनमेल गर्न जानेको संख्या ह्वात्तै घटेको छ । अहिले एकाध व्यक्ति बाहेक उपल्लो मुस्ताङबाट चीनतर्फको भूगोलमा नगएको बताईएको छ ।
नाकामा चहलपहल घटेपछि नाका आशिंक समयका लागि बन्द गर्ने भित्री तयारी गरिएको छ । तयारी अनुसार अर्को सूचना जारी नभएसम्म अघोषित रुपमा नाका बन्द गर्ने मोटामोटी छलफल भएको छ ।उपल्लो मुस्ताङमा अत्यधिक चिसो र हिमपातको संम्भावना प्रवल रहेको र चीनतर्फका ब्यापारीहरु पनि आर्थिक कारोवार कम भएसंगै सीमानाकाबाट आफ्ना गन्तब्यमा प्रस्थान गरिसकेकाले कोरलानाका अघोषित बन्द गर्ने तयारी गरिएको हो ।
नेपाल—चीन उत्तरी कोरलानाका आज डिसेम्बर १ तारिखदेखि अर्को सूचना जारी नभएसम्म अघोषित रुपमा बन्द गर्ने भनिएपनि एकाध व्यक्तिहरु चीन गएर सामान किन्न क्रम भईरहेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट(राजु)ले जानकारी दिए ।प्रतिकुल मौसमका कारण उपल्लो मुस्ताङका अधिकाँश स्थानीय बेसी झरिसकेको र कतिपय बेसी झर्ने तयारी रहेकाले नाका अघोषित रुमा क्षणिक समयका लागि बन्द गर्न आवश्यक रहेको अध्यक्ष बिष्टले बताए । चीनतर्फको लिजीमा ब्यापारिक आर्थिक कारोवार घटेकाले नेपाल—चीन दुई पक्षिय आपसी मौखिक समझदारीमा केही समयका लागि कोरलानाका बन्द गर्न लागिएको अध्यक्ष बिष्टको भनाई छ ।‘ उपल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण जनजिवन कष्ठकर छ,गाउँ समेत विस्तारै रिक्तिन थालेका छन् ,अध्यक्ष बिष्टले भने,‘हिमपात हुँदा सीमानाका आउजाउमा पनि समस्या हुन्छ,यसैले अर्को सूचना भएपछि साविक जस्तो नाका सूचारु गर्न कठिनाई हुँदैन।’
कोभिड तथा सुरक्षा संवेदशीलताका कारण चीनले एक पक्षिय रुपमा बन्द गरेको नेचुङ—लिजी कोरलानाका तामझामका साथ आतसबाजी गरी उद्घाटन गरिएको थियो । अहिले चिसोका कारण उपल्लो मुस्ताङका स्थानीय चीनको कोरलानाका समेत जान निकै कठिनाई छ । सीमा क्षेत्रमा तापक्रम माईनस १५ डिग्रीमा झरिसकेकाले नाका संञ्चालनमा मौसमी चुनौती छ ।
उता चीनतर्फको लिजी बजारमा पनि प्रतिकुल मौसमका कारण उस्तै चिसो छ । यसैले ब्यापारिक कारोवार कम हुन थालेपछि सीमानाकामा बसेका चिनियाँ ब्यापारीहरु पनि साविककै गन्तब्यमा गईसकेकाले कोरलानाका खुल्ला गर्नु र नगर्नुको औचित्य नभएको बताईएको छ ।
अत्यधिक चिसोका कारण भन्सारका कर्मचारी जोमसोम झरे |
नेपाल—चीन कोरलानाका खुलेसंंगै मंसिर ४ गतेदेखि राजश्व संकलन सुरु गरेको मुस्ताङ भन्सार कार्यालयका कर्मचारीहरुलाई पनि शुक्रबारदेखि जोमसोममा स्थान्तरण गरिएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख डालेश्वर अर्यालले जानकारी दिए । नेचुङमा रहेको भन्सार कार्यालय प्रतिकुल मौसमलाई थेग्ने वातावरणमैत्री कर्मचारी बस्ने पूर्वाधार नभएको र सीमानाकाबाट हुँने व्यापारिक कारोबार समेत न्यून भईसकेकाले नेचुुङ भन्सारमा कार्यरत ४ जना कर्मचारीलाई जोमसोमबाट सेवा संञ्चालन गर्ने गरी स्थान्तरण गरिएको भन्सार प्रमुख अर्यालको भनाई छ ।
उपल्लो मुस्ताङका दुई गाउँपालिकाका लागि सीमानाका खुल्ला भएपनि स्थानीय नागरिक बेसी झरिसकेको र भन्सारको समेत पर्याप्त पूर्वाधार नहुँदा प्रतिकुल मौसमको समयमा सेवा संञ्चालन गर्न कठिनाई हुने भन्सार प्रमुख अर्यालले उल्लेख गरे । जोमसोममा मुस्ताङ भन्सार कार्यालयले घर भाडामा लिएर संम्पर्क कार्यालय खडा गर्दैआईरहेको छ । भन्सार प्रमुख अर्यालले प्रतिकुल मौसममा सीमानाकाबाट व्यापारिक कारोबार भएको अवस्थामा जोमसोमबाटै सेवा दिने व्यवस्था मिलाईएको बताए ।
लगातार ४ वर्ष बन्द भई खुलेको कोरलानाकाबाट आयात गरिएका सामाग्रीहरुको राजश्व १० दिनमा २ लाख ४२ हजार राजश्व संकलन भएको भन्सार प्रमुख अर्यालले जानकारी दिए । सीमानाकाबाट खाद्यान्न,लत्ताकपडा र दैनिक उपभोग्य वस्तु आयात भएको र सो वस्तु प्रकृति मूल्यांकन गरेर राजश्वक संकलन गरिएको भन्सार प्रमुख अर्यालले बताए ।
नेपाल—चीन नेचुङ—लिजी कोरलाको सीमानाका प्रस्थान अनुमतीपत्रका लागि जिल्ला ईलाका प्रशासन कार्यालय लोमान्थाङले झन्डै एक हजार बढीलाई पास वितरण गरेको थियो । सीमानाका खुल्ला भएको १६ दिनको फेरोमा झन्डै १२ सय जना स्थानीय नागरिकले तिब्बत बजारमा किनमेल गर्न गएका थिए ।
प्रतिकुल मौसमका कारण चिसो र हिमपातको संम्भावना भएकाले चिसो घटेपछि नेपाल—चीन आपसी सहमतीमा सूचना प्रकाशित गरी नाका संञ्चालन गर्न मिति तय गरिने छ । उपल्लो मुस्ताङीहरु बेसीबाट चैत्र बैशाखमा घर फर्किने भएकाले सो समयमा नाका अहिलेको जस्तै खुल्ला हुनेछ ।
नेपाल—चीन कोरलानाकाबाट नेपाल पक्षका नागरिकले खाद्यान्न,लत्ताकपडा ,फर्निचरलाई चाहिने सामाग्री, दैनिक उपभोग्य वस्तु आदी आयात गरेका थिए । उनीहरु मध्ये केहीले व्यापारिक प्रयोजनका लागि सामान आयात गरी मुस्ताङ र जिल्ला बाहिर लगेर बिक्री गरेका थिए । अहिले चिसोकै कारण उपल्लो मुस्ताङका नागरिक धमाधम बेसी झर्दैछन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहान र बेलुकीपख उपल्लो मुस्ताङको छोसेर र मुक्तिनाथको तापक्रम माईनस १२ डिग्रीमा झरिसकेको छ । यसैगरी लोमान्थाङमा माईनस ९ ,चराङमा माईनस ८,कागबेनीमा माईनस ५ र छुसाङमा माईनस ५ डिग्रीमा झरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
उपल्लो मुस्ताङमा तापक्रम माईनसमा झरेको लोमान्थाङ गाउँपालिकाका लेखा अधिकृत उज्वल चापागाईले जानकारी दिए । चिसोका कारण धारा,कुलो र सेफ्टी ट्याङ्की जमेको र खानेपानी तताएर खानुपर्ने अवस्था रहेको बताए । चिसो कारण उपल्लो मुस्ताङमा पर्यटकको उपस्थित न्यून रहेको र पर्यटक व्यवसायी र स्थानीयका घरहरु विस्तारै बन्द हुन थालेको लेखा अधिकृत चापागाईले बताए ।