काठमाडौं, जेठ ९ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी जेठ २३ गतेदेखि ‘जनयात्रा’ अभियान सुरू गर्ने भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको जनयात्रा संयोजन समितिको बैठकले झापाको मेचीनगरबाट अभियानको औपचारिक सुरुआत गर्ने निर्णय गरेको हो।
पार्टीकी प्रवक्ता निशा डाँगीका अनुसार बैठकले जनयात्रा अभियानबारे तीन महत्वपूर्ण निष्कर्ष निकालेको छ— पहिलो, जनयात्रा जेठ २३ गतेबाट सुरू गरिने; दोस्रो, यसको सुरुआत झापा जिल्लाबाट गरिने; र तेस्रो, अभियानलाई स्थानीय तहसम्म विस्तार गरिनेछ।
‘जनयात्रामा कार्यवाहक सभापति, उपसभापति, महासचिव, सम्बन्धित जिल्लाका सांसद, प्रदेश इन्चार्ज, जिल्ला सभापति तथा स्थानीय समिति पदाधिकारीहरूको सक्रिय सहभागिता रहनेछ,’ डाँगीले जानकारी दिइन्। उनका अनुसार झापाबाट प्रारम्भ गरिने यो अभियान केन्द्रीय संयोजन समितिको टोलीमार्फत केही पालिकामा सञ्चालन गरिनेछ भने अन्य पालिकामा स्थानीय समिति स्वयंले अभियानलाई गाउँ–टोलसम्म पुर्याउनेछन्।
सभा, सम्मेलन वा कोणसभाभन्दा फरक रूपमा यो अभियान समस्या संकलन र समाधानमा केन्द्रित रहने र त्यसअनुसार कार्यविधि समेत तय गरिएको डाँगीले बताइन्।
यसअघि, रास्वपाले चैत २३ गते चितवनबाट जनयात्राको औपचारिक शुभारम्भ गरिसकेको थियो।
जनयात्रा सफल बनाउन जेठ १६ गते प्रदेश इन्चार्ज, सांसद तथा केन्द्रीय नेताहरूबीच विशेष बैठक आयोजना गरिनेछ।
अभियानको केन्द्रीय संयोजनको जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई दिइएको छ भने उपसंयोजकको भूमिकामा डा. तोसिमा कार्की रहनेछिन्।
त्यस्तै, बिहीबारको बैठकले समिति उपसमिति गठन गर्दै निम्नअनुसार जिम्मेवारी तोकेको छः
अन्तरप्रदेश समन्वय समिति — सांसद अशोक कुमार चौधरी
अनुगमन उपसमिति — विजय जैरु
पूर्व तयारी संयोजन उपसमिति — साजन शर्मा
समन्वय तथा जनपरिचालन उपसमिति — समिर थापा क्षेत्री
सांसद अशोक कुमार चौधरीलाई जनयात्रा अन्तरसमन्वय समितिको नेतृत्व सुम्पिनुले अभियानलाई समग्र प्रदेशबीच सशक्त समन्वय गर्दै अघि बढाउने अपेक्षा गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता