एमालेले भक्तपुरको गुण्डुमा कार्यकर्ता भेला गर्दै

भक्तपुर — नेकपा (एमाले) ले बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुमा कार्यकर्ता भेला गर्ने भएको छ।

एमाले भक्तपुर जिल्ला कमिटीका अनुसार बिहान ११ बजे वडा कार्यालय नजिकै आयोजना हुने उक्त भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहनुहुनेछ। कार्यक्रममा एमालेका अन्य शीर्ष नेताहरूको पनि उपस्थिति रहने जनाइएको छ।

यसअघि जेन–जी आन्दोलनका प्रदर्शनकारीको एक समूहले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्ने अनुमति जिल्ला प्रशासन कार्यालयबाट लिएको थियो। जेन–जी विद्रोहको एक महिनाको अवसरमा ‘आन्दोलनको मर्म र भावना जगेर्ना गर्ने’ उद्देश्यले अनुमति लिइए पनि गृह मन्त्रालयले उक्त कार्यक्रम नगर्न निर्देशन दिएको थियो। त्यसपछि प्रदर्शन स्थगित गरिएको हो।

सामाजिक सञ्जालहरू, विशेषगरी टिकटकमार्फत असोज २३ गतेको प्रदर्शनबारे व्यापक प्रचार भएकाले भदौ २४ जस्तै घटना पुनः दोहोरिन सक्ने आशंकामा एमालेले सुरक्षासम्बन्धी तयारी गर्दै कार्यकर्ता भेलाको रूप दिएका एक नेताले जानकारी दिए।

उनका अनुसार, “हालका दिनमा पार्टी नेताहरूको निवास लक्षित गर्दै विभिन्न अभिव्यक्ति र प्रचार हुँदै आएका छन्। असोज २३ मा पनि प्रदर्शनको तयारी थियो, त्यसैले सतर्कताका रूपमा कार्यकर्ता भेलाको आयोजना गरिएको हो,” उनले भने।

हाल अध्यक्ष ओली सूर्यविनायक–७ गुण्डुमा बसोबास गर्दै आउनुभएको छ। भदौ २४ गते भक्तपुर बालकोटस्थित उहाँको निवासमा आगजनी भएपछि ओली त्यहाँबाट सर्नु भएको हो। लामो समयपछि सार्वजनिक कार्यक्रममा सहभागी हुन लाग्नुभएका ओली हाल गुण्डुस्थित आवासबाटै राजनीतिक गतिविधि सञ्चालन गर्दै आउनुभएको छ।

यता, एमालेले आउँदो शुक्रबार र शनिबार सचिवालय बैठक बस्ने र असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ। त्यसअघि अध्यक्ष ओलीले प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्षहरूसँग भर्चुअल माध्यमबाट छलफलसमेत गरिसक्नुभएको छ।
नेताहरूका अनुसार आजको भेलामा पनि अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्नेछन्।

प्रतिक्रिया